जोर्नी प्रत्यारोपणः हिँडेर घर जाँदाको मज्जा ! लाइफ चेञ्जिङ उपचार
हरेक महिना १२ देखि १८ वटासम्म घुँडा तथा हिपको जोर्नी प्रत्यारोपण
जनस्वास्थ्य सरोकार, काठमाडौं । गत महिना डा.भास्करराज पन्तले १६ वटा जोर्नी प्रत्यारोपण गर्नुभयो । कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन एवं जोर्नी प्रत्यारोपणविद् डा. पन्त र उहाँको टिमले हरेक महिना १२ देखि १८ वटासम्म घुँडा तथा हिपको जोर्नी प्रत्यारोपण गर्दै आएको छ । यो एक महिनाको अवधिमा हुने ठूलै प्रत्यारोपण मान्नुपर्छ । वास्तवमा जोर्नी किन खराब हुन्छ र प्रत्यारोपणको जरुरी किन पर्छ ? यसमा जीवनशैलीको भूमिका कस्तो रहन्छ ? र जटिल अवस्था कस्ता हुन्छन् ? भन्नेबारे डा. पन्तसँग जनस्वास्थ्य सरोकारले गरेको कुराकानीको सारसंक्षेप ।
कस्ता व्यक्तिलाई जोर्नी प्रत्यारोपणको जरुरत पर्छ ?
उमेर, बाथ वा चोटपटकका कारण जोर्नी खिइएका र हिप बिग्रिएका व्यक्तिहरुमा जोर्नी प्रत्यारोपण गर्नुपर्छ । चोटपटक लागेर जोर्नी वा हिपमा लोड परेको अवस्थामा प्रत्यारोपण गर्नुपर्छ । हिपको गेडी भाँचियो भने आधा मात्र जोर्नी फेरेपुग्छ । यसलाई हेमी आर्थोप्लास्टि भनिन्छ । हेमिआर्थोल्पाष्टी पश्चात् बृद्धबृद्धा तुरुन्तै हिँड्डूल गर्न सक्छन् । अतः हामी घुँडा, हिप, हेमी आर्थोप्लास्टीसम्बन्धि प्रत्यारोपण गर्छौं । कहिलेकाहिँ काँध रिप्लेस गर्नुपर्ने व्यक्ति पनि आउने गर्छन् । म लगायत स्पाइन स्पेसलिष्ट डा. प्रशान्त अधिकारी र जोइन्ट रिप्लेसमेन्ट स्पेसलिष्ट डा सन्दिप भण्डारीसहितको टिम छ । बच्चादेखि बृद्धबृद्धा सम्मको जोर्नी फेर्ने, ढाडको सर्जरी, चोटपटक लागेको सबैखाले उपचार गरिन्छ । हामी पूर्णकालिन रुपमा अस्पतालमा काम गर्दछौं ।
कति उमेर समूहका व्यक्तिको जोर्नी प्रत्यारोपण गर्दै आउनुभएको छ ?
सबैभन्दा कम २२ वर्ष र सबैभन्दा बढी ९८ वर्षको बृद्धाको सफल हिप प्रत्यारोपण गरेका छौं ।
प्रत्यारोपाण गर्न बेहोस बनाउनुपर्छ ?
प्रायः बिरामीलाई बेहोस नबनाई प्रत्यारोपण गर्छौं ।
परिणाम कस्तो पाउनुभएको छ ?
फिजियोथेरापी पश्चात् धेरै व्यक्तिहरु जोर्नी प्रत्यारोपण गरेको भोलिपल्ट नै हिड्न सक्नुहुन्छ । प्रत्यारोपण गरिसकेपछि ब्रेस बाध्ने वा खुट्टामा प्लास्टर लगाउन पर्दैन । वाकर वा लठ्ठीको भरमा हिड्न सक्ने हुन्छन् । दुवै घुँडा खिइएर ह्वील चेयरमा अस्पताल आएका बिरामी हिँडेर घर जाँदाको मज्जा सोच्नुस् त । यो त लाइफ चेन्जिङ उपचार मान्नुपर्छ ।
कुन उमेर समुह धेरै छ ?
धेरैजसो ६० देखि ९० वर्षका घुँडा र हिप प्रत्यारोपण गर्नुपर्ने बाद्यता लिएर आउँछन् ।
महिला र पुरुषमा को कसको संख्या धेरै छ ?
यसमा महिलाको संख्या धेरै छ ।
जोर्नी खिइने कारण बताइदिनुस् न ?
उमेर बढ्दै जाँदा जोर्नी र हिप खिइने गर्छ । महिनावारी बन्द भएका महिला, बाथरोग भएका व्यक्तिहरुमा हड्डी खिइने क्रम सुरु हुन्छ । त्यस्तै मोटोपना, अस्वस्थ्यकर जीवनशैली, होचो र धेरैबेर टुक्रुक्क बसेर काम गर्ने, धेरै डाँडाकाँडा हिँडडूल गरिरहनुपर्ने समस्या भएका व्यक्तिहरुमा जोर्नी खिइएको पाइएको छ ।
पाठेघर झिकिएका महिलाहरुमा पनि जोर्नी खिइने समस्या हुनसक्छ । हल्का दुखाइ हुँदा उपचार गरेमा ठिक हुन्छ तर जोर्नी खराब भएर हातखुट्टा बांगिसकेको अवस्थामा जोर्नी प्रत्यारोपणको विकल्प छैन ।
राम्रो परिणाम प्राप्त गर्ने आधारहरु के के छन् ?
दक्ष एवं अनुभवी सर्जनले अत्याधुनिक अपरेशन थिएटरमा संक्रमण नहुने गरी अनुभवी एनेस्थेटिक्सको मद्धतमा सर्जरी गर्नुपर्छ । शल्यक्रिया पछि रिह्याबिलिटेसनको जरुरत पर्छ । प्रत्यारोपण गरेका व्यक्तिहरु टुक्रुक्क, होचो ट्वाइलेट, पँलेटी कसेर बस्न हुँदैन । यसैगरी रुख चढ्ने, डाँडाबाट हाम फाल्ने जस्ता जोखिमयुक्त क्रियाकलापबाट टाढा रहनुपर्छ । यीबाहेक सबैप्रकारका दैनिक क्रियाकलाप गर्न सकिन्छ ।
एकपटक जोर्नी प्रत्यारोपण गरेपछि २८ देखि ३२ वर्ष समस्या आउँदैन । त्यसपछि पनि जोर्नी खिइएमा जोर्नीको वासर फेरे पुग्छ । यो गाडीमा टायर परिवर्तन गरे जस्तै हो ।
प्रत्यारोपणमा प्रयोग गरिने प्रोस्थेसिसबारे बताइदिनुस् न ?
जोर्नी प्रत्यारोपणमा प्रयोग हुने प्रोस्थेसिस विभिन्न खाले हुन्छन् । नेपालमा यसलाई स्टील भन्ने चलन छ । यो अलोए मेटलबाट बनेको हुन्छ । यसलाई कोबाल्ट क्रोम भनिन्छ । यो टाइटानियम र जिरकोनियमबाट बनेको हुन्छ । विभिन्न कम्पनीले छुट्टा छुट्टै प्रोस्थेसिस उत्पादन गरेका छन् । वासर सेट गर्न घुँडाको हड्डीमा बोन सिमेन्ट हालिन्छ जुन १० मिनेटमा सेट हुन्छ । त्यसपछि बिग्रिएको हड्डी सफा गरिन्छ । त्यसपछि प्रोस्थेसिस राखेर वासर सेट गर्नुपर्छ । त्यसको भोलि पल्टदेखि बिरामीलाइ हिड्न लगाइन्छ । हिपको सर्जरी गर्दा सिमेन्ट हाँलिदैन । हड्डी पलाएर समात्छ । पछि बलियो हुन्छ । यसका लागि बोन ग्रो हुने हाइड्रोअक्सिएपेटाइड कोटेड राखिन्छ ।
प्रत्यारोपणपश्चात् हुने संक्रमणदर कस्तो छ ?
प्रत्यारोपण गरेका प्रायः १ देखि ३ प्रतिशतलाई इन्फेक्सन हुनसक्ने युरोप अमेरिकातिरको रजिष्ट्री रिपोर्टमा उल्लेख भएको पाइन्छ । यस्ता संक्रमणबाट बच्न विभिन्न प्रविधिको उपयोग गरिन्छ ।
ल्यामिनर एअर फ्लो र हेपाफिल्टर भएको अपरेशन थियटर, दक्ष जनशक्ति, प्रत्यारोपण गर्दा प्रयोग हुने सबै सामान गुणस्तरीयको अवस्थामा सफल दर पनि राम्रो हुन्छ ।
जोर्नी प्रत्यारोपणमा प्रयोग हुने सामानले हानी पो गर्ने हो कि ?
यस्ता सामान शरीमा नै राख्न भनेर बनाइएको हो । मुटुमा पेसमेकर, रक्तनलीमा स्टेन्ट र हातखुट्टा भाँचिदा प्लेट राखे जस्तै त हो नि । यसरी मुटुमा हालेको स्टेन्टले ज्यान बचाउँछ भने घुँडामा हालेको कम्पोनेन्टले हिड्न मद्धत गर्छ । ल्याव टेस्ट भएर शरीरमै राख्न बनाएको कम्पोनेन्ट भएकाले असर गर्दैन । (डा पन्त धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत हुनुहुन्छ ।)