ह्याम्स अस्पतालमा नर्सहरुका लागि ‘क्रिटिकल केयर तालिम’ सम्पन्न

हेल्थ टिभी अनलाइन \काठमाडौं : ह्याम्स अस्पतालमा नर्सहरुका लागि क्रिटिकल केयर तालिम सम्पन्न भएको छ । क्रिटिकल केयर र आईसीयू सेवालाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि ह्याम्स लगायत अन्य अस्पतालमा कार्यरत नर्सहरुलाई दोस्रो पटक क्रिटिकल केयर तालिम दिइएको हो ।
अस्पतालले किर्टिकल केयर नर्सेस एशोसिएसन अफ नेपालसँगको सहकार्यमा ३० जना नर्सहरुलाई तीन महिने तालिम दिएको हो । असोज ४ गते सुरु भएको तालिम यही पुस २३ गते सम्पन्न भएको हो ।
उक्त तालिम अस्पतालमा कार्यरत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी बाट मान्यताप्राप्त बी एस्सी, बि एन र पीसीएल नर्सहरुलाई प्रदान गरिएको अस्पतालकी नर्सिङ निर्देशक वरुणा पौडेलले जानकारी दिइन् । उनका अनुसार तालिम लिएका नर्सहरु जुनसुकै देशमा गए पनि क्रिटिकल केयर सेवा दिनका लागि योग्य हुनेछन्।
तालिम समापन कार्यक्रममा अस्पतालका अध्यक्ष आर एस भण्डारीले तालिम पूरा गर्न सफल भएका नर्सहरुलाई बधाई दिँदै आयोजकलाई तालिम प्रदान गरी नर्सहरुलाई अझ योग्य र गुणस्तरीय सेवा प्रदान गर्नका लागि सक्षम बनाएकोमा आभार व्यक्त गरेका थिए । उनले आगामी दिनमा अस्पतालमा यस्ता खालका तालिमहरुले निरन्तरता पाउने कुरामा आफू विश्वस्त रहेको जनाए । त्यसका लागि अस्पतालले गर्नुपर्ने सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।
तालिममा सहभागी नर्सहरुले तालिमबाट क्रिटिकल केयर सम्बन्धी धेरै ज्ञान हासिल गरेको र यसले आगामी दिनमा बिरामीको सेवालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए ।
क्रिटिकल केयर यूनिट कुनै पनि अस्पतालका लागि निकै संवेदनशिल यूनिट मानिन्छ । बिरामी अति सिकिस्त भएपछि मात्र आइसीयूमा राखिने हुँदा यस्ता बिरामीलाई आइसीयूमै विशेष तालिम लिएका नर्सहरुले मात्र सही उपचार र केयर दिने सक्ने हुँदा उनीहरुलाई यस्ता किसिमका तालिम आवश्यक हुन्छ । जुन पछिल्लो समय क्रिटिकल केयर नर्सेस एशोसिएसन अफ नेपालले विभिन्न अस्पतालमा गर्दै आएको छ ।