ह्याम्स हस्पिटलमा बालबालिकाको बाथ र क्लिनिकल इम्युनोलोजीसम्बन्धि अत्याधुनिक सेवा

11 September 2021

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराही चोकस्थित अन्तर्राष्ट्रियस्तरको ह्याम्स हस्पिटलमा बालबालिकाको बाथ रोग र क्लिनिकल इम्युनोलोजी सेवा सञ्चालनमा आएसँगै धेरैले लाभ लिन सफल भएका छन् । अस्पतालमा नेपालका प्रथम डि.एम. पेडियाट्रिक इम्युनोलोजिष्ट एवं र्युमाटोलोजिष्ट डा. धर्मागत भट्टराईको आगमनसँगै धेरैले सो सेवा लिन सफल भएका हुन् ।

दक्ष बिज्ञ, निदान सामग्री, उपकरण र संस्थानगत प्रयासको अभावले गर्दा चिकित्सा बिज्ञानको यो महत्वपूर्ण पाटो नेपालमा चिकित्सकको माझ त्यति जानकारी नरहेको विधा हो । यस्तो बेला यही बिषयमा दक्षता हाँसिल गरेका डा. भट्टराईबाट सम्बन्धित रोगी र विधा विकासका लागि ठूलो योगदान हुनसक्छ ।

‘क्लिनिकल इम्युनोलोजी (रोग प्रतिरक्षा बिज्ञान) भित्र इम्युनिटी विकास, रखवारी, यसमा आउने कमी, गडबडी र नियन्त्रणहिनता आदिले निम्त्याउने प्राथमिक र जन्मपश्चात्का इम्युन–कमी, एलर्जी, हाईपरसेन्सिटिभिटी, इम्युन–असन्तुलन (इम्युन–डीसरेगुलेशन) का रोगहरु, एचआईभी एड्स आदिको जाँच खोज र सामान्य उपचारदेखि उच्च बिधि जस्तै बोन म्यारो ट्रान्सप्लान्ट उपचार बिधिहरु समेटिन्छन ।’

‘हामीकहाँ इम्युनिटीबारे चासो भएपनि यसको कमी हुँदा के के हुन्छ र त्यसमा के गरिनुपर्छ भन्नेबारे न त सचेतना छ, न त निदान र उपचारमा चासो नै छ । फलस्वरुप यी रोगको सही उपचार फलोअप, अन्य उपचार बिधिदेखि बोन–म्यारो प्रत्यारोपण आदि प्रयाप्त छैनन् ।’

डा. भट्टराईको विज्ञताले यो खालीपन हटाउन सहयोग गर्ने आशा पलाएको छ ।

पेडियाट्रीक र्युमाटोलोजी (बाल बाथजन्य बिज्ञान) अन्तर्गत इम्युनिटी प्रणालीको असन्तुलनले गर्दा हुने जोर्नी, छाला, अंग जोड्ने तन्तु, हड्डी, आन्तरिक अंग (जस्तै मिर्गौला, फोक्सो, मुटु, मस्तिष्क आदि) का बहुआंगिक या बहुप्रणालीगत रोग पर्छन् । यसमा जोर्निका अथ्र्राइटिस, स्व–प्रतिरक्षा रोग या अटोइम्युन एवं अटो–ईनफ्लामेटरी बिमारी, रक्तनलीका सुजन अर्थात भास्कुलाईटिस, लामो समय रहने दिर्घ–ज्वरो, गाँठागुँठीका तथा दीर्घ अन्तरङ्ग आंगिक रोगीहरु पर्छन । विशिष्ट–कृत बिज्ञको आगमनले यी जटिल रोगीहरुको समयानुचित जाँच, उपचार र फलो–अपबाट सम्भव हुने डा. भट्टराइको भनाइ रहेको छ । डा.भट्टराई आएसँगै अब जाँच र उपचारका लागि विदेशका उच्च चिकित्सा संस्थान जान बाध्य बिरामीहरुलाई हाम्रै देशमा उपचार मिल्ने अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले जानकारी दिनुभयो ।

‘हामीकहाँ जन्मजात र जन्मपश्चातका इम्युन कमी रोग, एचआईभी र बाल बाथजन्य रोगसम्बन्धि ठुला भ्रमहरु छन । यी भ्रम हटाउन जरुरी छ । ‘चिकित्सकीय जाँचमा डायग्नोसिस हुन नसकेका बहु–आंगिक बहु–प्रणालीगत रोग कतै इम्युनोलोजी एवं र्युमाटोलोजी सम्बन्धि रोगी त होइनन’ भनेर सोच्नुपर्ने बेला आएको डा. भट्टराइले स्पष्ट पार्नुभयो । यो नसोच्दा थुप्रै इम्युनकमी र बाथजन्य रोग, बिना–निदान भौतारिएर रोग बिग्रिन्दै अंगभंग हुन र ज्यान गुमाउन पुगेका छन ।

अनि बाथजन्य रोग बच्चामा हुन्नन भन्ने अर्को भ्रम छ, जबकि यी रोग बच्चामा हुन्छन र प्रस्तुतिको हिसाबले वयस्कमा भन्दा बढी गम्भीर हुन्छन । बाथरोग भनेका जोर्नी मात्रका रोगी होइनन् । यो सबैले बुझ्नु जरुरी छ कि र्युमाटोलोजिकल अर्थात बाथजन्य रोग बहु–आंगिक बहुप्रणालीगत समस्या भएका कुनै पनि रोगीमा सोचिनुपर्छ ।

बाथजन्य रोग दिर्घकालिन मात्र हुन्नन् । कावासाकी रोग, एमआईएससी, एमएएस, एचएलएच, लुपस जस्ता तमाम बिमारी तात्कालीन गम्भीर लक्षण ल्याउने खालका हुन्छन् । तसर्थ यसको चेतना जनमानस र सबै चिकित्सकमा हुनु जरुरी छ ।’—डा. भट्टराइले स्पष्ट पार्नुभयो ।

युरोप र अमेरिकी देशमा अति बिकसित विधा हाम्रो देशमा सुरुवात समेत नहुनु दुखद पाटो थियो । पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी विषयमा उच्च शिक्षा डी.एम.सम्पन्न गरेर फर्किनुभएका डा भट्टराई र संस्थागत प्रयासले अब भने यो विधाका रोगको उपयुक्त जाँच, उपचार साथै रोगप्रतिरक्षा एवं बाल बाथजन्य बिज्ञानबारे जानकारी कार्य सम्पन्न हुनसक्नेछ ।

रोग प्रतिरक्षा विज्ञान (इम्युनोलोजी) हाल विश्वमा सबभन्दा फस्टाउँदो र आशालाग्दो बिज्ञान विधा हो । इम्युनिटी सचेतना र यसको कमीका बुझ्न चिन्न जटिल इम्युन कमी र गडबडीका बिमारीको बारेमा हामी अधिकांशत अनभिज्ञ छौं । यो विधाले इम्युन विकास, बालविकास, वृद्धि, इम्युन कमीका रोग तिनको जड कारण, निदान र उन्नत उपचार बिधि निर्धारण गर्छ । उच्च उपचार पद्दति, बायोलजिक्स, इम्युनोग्लोबिन, इन्टरफेरोन, खोप, बोन म्यारो ट्रान्सप्लान्टेसन आदि सबै यही विधाका बरदान हुन । त्यस्तै बाल बाथजन्य बिज्ञान (पेडियाट्रिक र्युमाटोलोजी) विधामा थुप्रै बहु–आंगिक,जटिल र गम्भीर (दिर्घकालिन एवं तत्कालिन) असन्तुलित इम्युनिटीबाट सिर्जिने बाल–बाथजन्य बिमारको निदान र उपचार पर्छन । यी विधा बिकसित देशमा अति फस्टाएको र बिभिन्न रोगहरुको जड निदान र उपचारमा नै ठुलो परिवर्तन ल्याउन सफल विधा भए पनि हाम्रो देशमा यसबारे सामान्य संचेतना पनि देखिन्न । फलस्वरूप यस्ता रोगी निदान र सही उपचारबाट बन्चित छन ।

यही बिषयमा एक वर्षअघि दक्षिण एसियामा सिर्फ एक इन्स्टिच्युट पिजिआई चण्डीगढमा अध्यापन गराइने इम्युनोलोजी एवं पेडियाट्रिक रयुमाटोलोजी विधामा डा. धर्मागत भट्टराईले डक्टरेट अफ मेडिसिन (डिएम) सुपर स्पेशलाइज (विशिष्टकृत विज्ञता) पुरा गरी स्वदेश फर्कनुभएको छ ।

चितवनबाट प्राथमिक र माध्यमिक शिक्षा हाँसिल गरेका डा.भट्टराईले छात्रवृतिमा कलकत्ताको आर.जी.कार मेडिकल कलेजबाट एमबिबिएस गर्नुभएको छ । उहाँले छात्रवृतिमै भारतको प्रख्यात उच्च चिकित्साशास्त्र अध्ययन संस्थान ‘पीजीआई, चण्डीगढबाट बालबिज्ञान (पेडीयाट्रिक्स) बिषयमा एमडी र बाल रोग प्रतिरक्षा तथा बाथजन्य बिज्ञान (पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी) बिषयमा डीएम. डाक्टरेट अफ मेडिसिन डिग्री पुरा गर्नुभएको छ । उहाँ सो संस्थानबाट यो डिग्री हाँसिल गर्ने नवौं बिशेषज्ञ हुनुहुन्छ भने नेपालबाट ‘पेडीयाट्रिक क्लिनिकल इम्युनोलोजी एवं र्युमाटोलोजी’विषयमा डी. एम गर्ने पहिलो विशेष विज्ञ हुनुहुन्छ । सानैदेखि उत्कृष्टतासाथ विशिष्ट श्रेणीमा शिक्षा सम्पन्न गरेका थुप्रै अन्तर्राष्ट्रिय अवार्ड र सम्मानबाट सम्मानित डा. भट्टराई विश्वका उच्चतम इम्युनोलोजी संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसेन्सिज एवं एसिया प्यासिफिक सोसाइटी फर इम्युनोडिफीसेन्सिजका लागि नेपालका प्रथम एवं हालका बैज्ञानिक प्रतिनिधि पनि हुनुहुन्छ ।

 

Source: https://nepalhealthnews.com/news/2021/09/07/37706.html