22 August 2021
काठमाडौँ – काठमाडौँको ह्याम्स अस्पतालले किर्टिकल केयर, आईसीयू सेवालाई गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आफ्ना नर्सहरुलाई तालिम प्रदान गरेको छ ।
अस्पतालले किर्टिकल केयर नर्सेस एशोसिएसन अफ नेपाल (सीसीनान)सँगको सहकार्यमा विभिन्न अस्पतालका ६ जना चिकित्सकमार्फत ३२ जना नर्सहरुलाई तीन महिने तालिम दिएको हो
गत वर्ष फागुनको १६ गते सुरु भएको तालिम जेठ १६ गते सकिनु पर्ने भए पनि कोरोना महामारीका कारण दुई महिना स्थगित भएको थियो । त्यसपछि सुरु भएको तालिम आजै (शुक्रबार) सम्पन्न भएको हो ।
उक्त तालिम अस्पतालमा कार्यरत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त बीएस्सी र पीसीएल नर्सहरुलाई मात्रै प्रदान गरिएको अस्पतालकी नर्सिङ डाइरेक्टर वरुणा पौडेलले जानकारी दिइन् । उनका अनुसार तालिम लिएका नर्सहरु विश्वको जुनसुकै देशमा गए पनि मान्यता प्राप्त हुनेछन् ।
तालिम समाप्तीको अवसरमा प्रमुख अतिथी तथा सीसीएनकी अध्यक्ष लक्ष्मी केसीले आगामी दिनमा पनि सीसीएनले ह्याम्स अस्पतालसँगको सहकार्यमा विभिन्न सीपमूलक कार्यक्रमको आयोजना गर्ने बताइन् । यस्तै ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले तालिम प्राप्त गर्ने नर्सहरुलाई बधाई दिँदै सीसीएनलाई तालिम प्रदान गरेकोमा धन्यवाद दिए ।
उनले आगामी दिनमा पनि सीसीएनसँग विभिन्न तालिमका लागि सहकार्य हुने विश्वास व्यक्त गरे । अध्यक्ष भण्डारीले भने, ‘हामी विभिन्न किसिमका तालिमको प्रयोजनार्थ आधुनिक किसिमको आधुनिक हल पनि निर्माण गर्दैछौँ । सीसीएनसँग सहकार्य गर्दै आगामी दिनमा विभिन्न किसिमका सीपमूलक तालिम आयोगना गर्नेछौँ ।’
आकस्मिक तालिम, सीसीनान तालिम, संक्रमण नियन्त्रण तुरुन्तै सञ्चालन गर्न लागिएको उनले बताए । ह्याम्समा कार्यरत सबै नर्सहरुलाई तालिम दिएर बिरामीलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा उपलब्ध गराउनु अस्पतालको मुख्य उद्देश्य रहेको उनको भनाई छ ।
तालिममा सहभागी नर्सहरुले तालिमबाट किर्टिकल केयर सम्बन्धी धेरै सीप हासिल गरेकाले बिरामीको सेवालाई अझ प्रभावकारी बनाइन सहयोग मिल्ने बताए ।
सीआईडब्ल्यूईसी अस्पतालका श्वेता महर्जन, शहिद गंगालाल अस्पतालका प्रतिबन्दन डंगोल, ग्रान्डी अस्पतालका बिना भट्टराई, धुलिखेल अस्पतालका रश्मिता ब्यान्जु श्रेष्ठ, ह्याम्स अस्पतालका रीमा श्रेष्ठ र प्रतीभा पौडेलले सहभागी नर्सलाई तालिम प्रदान गरेका हुन् ।
source: https://himalayapost.com/archives/171359