स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपुर्ण छ: डा कृष्ण ढुङ्गाना (भिडियोसहित)

29 December 2021

पछिल्ला वर्षहरूमा स्ट्रोक मृत्युको प्रमुख कारणहरू मध्ये शीर्ष पाँचमा स्ट्रोक देखिन्छ। नेपालमा स्ट्रोक समस्या हुने औसत उमेर ५२ र ६२ वर्षको बीचमा रहेको छ, जसमा पुरुषहरु बढी प्रभावित हुन्छन्। उच्च रक्तचाप, मधुमेह, धूम्रपान तथा मध्यपान स्ट्रोकको मुख्य कारक देखिन्छ। स्ट्रोकको उपचारमा समय सबैभन्दा महत्वपुर्ण पक्ष हो तर धेरैजसो स्ट्रोकका बिरामीहरू विविध कारणले समयमा अस्पताल नै नपुग्ने अवस्था छ। यसै प्रसंगमा आज हामीले मस्तिष्कघात अथवा स्ट्रोक हुनुका कारण, परिक्षण, र उपचारबारे ह्याम्स अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोलोजिष्ट डा कृष्ण ढुङ्गाना सँग केही प्रश्न गरेका छौ।

स्ट्रोक के  हो?

स्ट्रोक अथवा मष्तिकघात भनेको  टाउकोमा रगतको नशा फुटेर अथवा बन्द भई त्यसबाट हुने समस्यालाई स्ट्रोक  अथवा मष्तिकघात भनिन्छ।

विश्वमा स्ट्रोकको तथ्यांक कस्तो छ?

विश्वमा १ वर्षमा लगभग १ सय पचाँस लाख मानिसलाई स्ट्रोक हुने गर्दछ। त्यसमध्ये त्यसको एक तिहाई मानिसहरुको मृत्यु हुने गर्दछ भने एक तिहाईमा केही न केही समस्या पछिसम्म भइरहने हुन्छ। जस्तो हातखुट्टा कमजोर हुने, कसैको बोली पुरै नआउने हुने हुन्छ।

त्यसैगरी, स्ट्रोक अर्गनाइजेसनको हालसालैको डाटाको कुरा गर्दा जीवनभरिमा २५ वर्ष पछि चार जनामा एक जनालाई स्ट्रोक हुने बताएको छ।

यसबाट कसलाई बढी खतरा छ?

यसको खतराको कुरा गर्दा उमेर बढ्दै गएपछि जसलाई पनि यसको जोखिम हुने हुन्छ। तर यसबाट धेरै जोखिम हुने भनेको हाईब्लडपेसर भएका, सुगरका बिरामी, धेरै तौल भएका, शारीरिक कसरत नगर्ने, जंक फुडहरुका साथै तेलमा तारेका खानेकुराहरु खाने मानिसहरुलाई स्ट्रोक हुनसक्ने सम्भावना अत्यधिक हुन्छ। अर्को जाड रक्सी, चुरोट विडी सेवन गर्ने मानिसलाई पनि यसको जोखिम बढी हुने गर्दछ।

कस्ता लक्षण देखिए स्ट्रोक हुनसक्छ?

यसको लक्षणहरुको कुरा गर्दा

  • उभिदा, हिड्दा शरीरको अवस्था सही नहुन।
  • आँखा कमजोर हुदै जानु।
  • मुख बांगिनु।
  • हात पाखुरा गल्नु कमजोर हुनु।
  • बोली लरबराउनु अथवा बोली नै बन्द हुनु।

अलि अघि २-३ मिनेट अगाडि ठीक भएको मानिसमा अकास्मात यस्ता लक्षणहरु देखापर्यो भने ती स्ट्रोकका लक्षण हुनसक्छन। यो अवस्थामा समयको एकदमै महत्व राख्दै सही निर्णय लिनुपर्ने हुन्छ। किनभने प्रत्येक सेकेन्डमा टाउकोको सेल्सहरु मर्दै जान्छ यस्तोमा हामीले समयमै उपचार गरेनौ र ढिलो गरी उपचार गर्दा राम्रोसँग निको नहुनसक्छ। जसले गर्दा बिरामीलाई समयमै अस्पताल लैजानु एकदमै जरुरी हुन्छ।

शंका लागे तुरुन्त परीक्षण गर्नुपर्छ

स्ट्रोक भनेर शंका लाग्नासाथै पहिले त हामीले सकेसम्म छिटो अस्पताल लैजानुपर्छ। र अस्पताल लगिसकेपछि कुन स्ट्रोक भएको त्यो छुट्याउनुपर्ने हुन्छ। स्ट्रोक दुईथरीको हुन्छ। एउटा स्केमिक मष्तिकघात जसमा रगतको नशा बन्द भएर त्यो ठाँउ मरेर हुने हुन्छ। अर्को हिमरेजिक मष्तिकघात यसमा चाहि रगतको नशा फुटेर हुने हुन्छ। यो दुईटा छुट्याउन एकदमै आवश्यक हुन्छ किनभने यी दुईटैको उपचार गर्ने तरीका एकदमै फरक छ। यसलाई छुट्याउन हामीले सीटीस्क्यान अथवा एमआरआई गर्ने गर्छौ।

उपचार यसरी गर्न सकिन्छ

यसमा एउटा थुंगोलाईसिस भन्ने हुन्छ त्यसमा चाहि हामीले एउटा मेडिटेसन दिन्छौ रगतको नशाबाट जहाँ रगत जमेर ब्लक भएको छ त्यो रगतलाई पगाल्ने काम गर्छ। त्यो पगालिसकेपछि ब्लड सर्कुलेसन हुनथाल्छ जसलेगर्दा बिरामीको कमजोरी पनि त्यति बढ्न पाउदैन् अलि अलि भएको कमजोरी पनि तुरुन्तै रिकभरी हुनसक्छ। यसमा के बुझनुपर्छ भने बिरामी भएको चार घण्टाभित्र यो औषधी चलाइसक्नुपर्छ जसले गर्दा समयमै अस्पताल आउन एकदमै जरुरी छ। यसमा जनचेतना जगाउन एकदमै आवश्यक छ। तपाई हाम्रो घर समाजमा यदि कसैलाई यी माथिका लक्षण देखियो भने तुरुन्तै अस्पताल जान सुझाउनुपर्ने हुन्छ।

अर्को उपचार गर्ने तरीका भनेको मेकानिकल थ्रोमेकटोमि हो। यसमा जसरी हार्ट अट्याक हुदा हामीले एन्जियोप्लाष्टिक गर्छौ त्यस्तै रगतको नशाबाट तार लगेर जुन रगतको टुक्राले बल्क भएको हुन्छ त्यसलाई निकालेर उपचार गर्ने गर्छौ। त्यसपछि त्यो ठाँउमा ब्लड सर्कुलेसन भएर बिरामी रिकभरी हुने हुन्छ। यसको पनि बिरामी भएको ६ घण्टाभित्र यसको उपचार गर्नुपर्ने हुन्छ। स्पेसल केशमा भने २४ घण्टासम्म पनि यो गर्न सकिन्छ। छिटो गर्नसकिने उपचार जसले बिरामीको तुरुन्त सुधार हुने भनेको यो दुइटा उचार हो।

मष्तिकघात हुनबाट बच्ने उपाय

हामीले स्वस्थ जीवनयापन अंगाल्न सकेको खण्डमा ९९ सय प्रतिशत मष्तिकघात चाहि रोकथाम गर्न सकिने खालका हुन्छन। जस्तो, ब्लडपेसर यो चाहि मान्छे हेरर उसलाई ब्लडपेसर भएको छ छैन भनेर भन्न सकिदैन। कति मानिसमा लक्षण नै देखिदैन जसले गर्दा ब्लडपेसर नियमित चेकअप गराउनुपर्यो र हाई भएमा औषधीहरु सेवन गरेर त्यसलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ। सुगर भएमा त्यसलाईँ पनि नियन्त्रणमा राख्नुपर्छ। तौल बढी भएमा कसरत गरेर हुन्छ कि कसरी हुन्छ त्यसलाई पनि घटाउनुपर्ने हुन्छ। पसिना आउने गरि हप्तामा पाँच दिन हिड्ने गर्नुपर्यो। खानेकुराहरुमा तारेको, मसलायुक्त खानेकुराहरु, जंक फुडहरु खानु भएन यसरी हामीले स्वस्थ जीवनयापन अंगाल्न कोसिस गर्नुपर्ने हुन्छ। यी सँगसँगै  तनावलाई पनि कम गर्नसक्यौ भने स्ट्रोक हुनबाट हामी बच्नसक्छौ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन कोशिस गर्नुपर्दछ।

हयाम्स अस्पतालमा भइरहेका उपचार विधीहरु के के छन?

हयाम्स अस्पतालमा हामीले थोम्बोलाइसिस उपचार पद्धतिकै प्रयोग अपनाइरहेका छौ। यसमा हामीले गरेको केसहरुमा बिरामी भर्ना भएको ३-४ दिनमानै सुधार भएर हामीले घर पठाउन सकेका छौ। मेकानिकल थ्रोमेक्टोमी पनि हामीले केही केसहरुमा गर्ने गरेका छौ। जे होस मष्तिकघात अथवा प्यारालाइसिसमा गर्नुपर्ने सबै उपचार पद्वती यहाँ उपल्ध छन्।

अन्तमा केही सुझाव

स्ट्रोक भनेको जनस्वास्थ्यको एकदमै ठुलो समस्या हो। यसको समयमै पहिचान भई बिरामीले सहि उपचार पाउनुपर्ने हुन्छ। किनभने मष्तिकघात भईसकेपछि कतिपय मानिसले बोल्नै नसक्ने, कसैले पहिलेका कुराहरु बिर्सने तथा आफुले चाहेका कार्यहरु सहजै गर्न नसक्ने हुन्छन। यदि हामीले समयमै थाहा पाएर उपचार गर्नसक्यौ भने स्ट्रोकको समयमै रिकभरी हुनुसक्छ जसले गर्दा उसले स्वतन्त्र रुपमा पहिले गर्दै आएका कामहरु गर्नसक्नुका साथै उसको स्मृती बचाउन सकिन्छ।

 

Source: https://medicalpatra.com/news-details/5609/2021-12-21