सफलताका दुई कथा…

16 September 2021

घटना नं. १

बिराटनगरकी ३२ वर्षकी एकजना महिलाको मस्तिष्कमा रगतको नसा फुटेर ब्रेन हेमोरेज भयो । बेहोस अवस्थामा उहाँलाई ह्याम्सको इमर्जेन्सी टिमले राति ९.३० बजे तत्काल हवाई उद्धार गरेर अस्पताल ल्यायो । उहाँको मस्तिष्कमा एन्युरिजम भएको पत्ता लाग्यो । अस्पतालमा टाउको नखोली हात वा गोडाको नसाबाट क्याथेटर छिराएर गरिने उपचार पद्धति (न्युरोइन्टरभेन्सन) बाट उपचार शुरु गरियो । हामीले एन्युरिजमभित्र विभिन्न तारहरुको माध्यमले सफल कोइलिङ गर्यौं । थप औषधि र आईसियूबाट उपचारलाई निरन्तरता दियौं । उहाँको प्यारालाईसिस पनि भएको थियो । दुई हप्तामा जोखिम कम भएपछि हस्पिटलबाट डिस्चार्ज हुनुभयो । अहिले उहाँ दैनिक क्रियकलापमा सक्रिय हुनुहुन्छ । केही समयअघि आफू नियमित दिनचर्यामा फर्केको खुशीयालीमा उहाँले भिडियो खिचेर पठाउनुभएको थियो । अस्पतालको इमर्जेन्सी विभागको समयमा उद्धार र अत्याधुनिक न्युरोइन्टरभेन्सन उपचारका कारण उहाँको ज्यान जोगिन सफल भयो ।

This image has an empty alt attribute; its file name is cerebral-aneurysm-768x602.jpg

उहाँ त एउटा पात्र मात्र हो । समयमा अस्पताल आइपुग्ने उहाँजस्ता धेरै ब्रेन हेमोरेज भएकाहरुको ज्यान जोगिन सफल भएको छ । वास्तवमा मस्तिष्कको रगतको नसा बेलुनजस्तै फूल्ने समस्या एन्युरिजम हो । यो फुटेको अवस्थामा ब्रेन हेमोरेज भएर व्यक्तिको ज्यानसमेत जानसक्छ । उच्चरक्तचापलगायत विभिन्न कारण रगतका नसा कमजोर भएकाहरुमा एन्युरिजम हुने गर्छ । मस्तिष्कमा एन्युरिजम फुटेर ब्लिडिङ भएपछि होस गुम्ने, हातगोडा प्यारालाईसिस हुने, बोली जाने, दृष्टि कमजोर हुने, हिड्ने सन्तुलन गुमाउने लगायतका समस्या देखिन सक्छन् ।

मुलुकको भौगोलिक बनावटका कारण समयमा उद्धार हुन नसक्दा अस्पताल ल्याउँदै गर्दा कतिको ज्यान गएको पाइन्छ । त्यसैले यस प्रकारको समस्या भएका बिरामीहरुको उद्धारका लागि अस्पतालको इमर्जेन्सी टिमको पनि महत्वपूर्ण भूमिका रहन्छ । हामीले बुझ्नुपर्ने कुरा भनेको एन्युरिजम २४ घण्टाभित्र फेरि फुट्ने उच्च सम्भावना हुन्छ । दोस्रोपटक फुटेमा ९० प्रतिशत मृत्युदर हुने सम्भावना रहन्छ । त्यसैले एन्युरिजममा २४ घण्टाभित्र उपचार गरेको राम्रो मानिन्छ ।

एन्युरिजम साइलेन्ट किलर हो । कसै कसैमा जन्मजात रगतको नसा कमजोर हुने किसिमका रोगहरुमा एन्युरिजम हुने सम्भावना रहन्छ । रगतको नसाको भित्ता कमजोर भएकाहरुमा उच्च रक्तचापले गर्दा चाँडो एन्युरिजम हुनसक्छ र यस्ता व्यक्तिहरुमा फुट्ने सम्भावना अलि बढी हुन्छ । विदेशतिर शारीरिक परीक्षण गर्दा अनिवार्य रुपमा एन्युरिजम पहिचानका लागि मस्तिष्कको सिटी एन्जिओग्राफी वा एमआर एन्जिओग्राफी गर्ने प्रचलन छ । नेपालमा पनि यसप्रति जनचेतना अभिवृद्धि गर्न सकेको अवस्थामा एन्युरिजम फुट्नु अगावै पहिचान भई उपचार पाएमा सम्भावित खतराबाट बिरामीलाई जोगाउन सकिन्छ ।

घटना नं.२


लुक्ला भन्दा तल जुविङ भन्ने विकट गाउँकी ३२ वर्षकी एक शेर्पा थरकी महिलालाई बर्षौदेखि टाउको दुख्थ्यो । विगतमा २ पटक छोटो समयका लागि बेहोस भइसक्दा पनि जँचाउनुभएको थिएन । पछिल्लो पटक भने उहाँ लामो समयसम्म बेहोस हुनुभएपछि ह्याम्स अस्पतालको इमर्जेन्सी विभागले मनाङ एअरबाट उहाँलाई तत्काल हेलि उद्धार गर्न सफल भयो । मनाङ एअर एवं ह्याम्स हस्पिटलका बजार व्यवस्थापक निशान श्रेष्ठको सक्रियतामा बिरामीको उद्धार भएको थियो । अस्पताल पुग्दा बिरामीको अवस्था अत्यन्त जटिल थियो । एउटा आँखाको नानी फुलिसकेको थियो । वास्तवमा दुवै आँखाका नानी फुलिनु भनेको ब्रेनको कार्यक्षमता सकिन लागेको संकेत मानिन्छ । नेपालमा ब्रेन ट्युमरको उपचारमा धेरै नै प्रगति भइसकेको भएपनि ढिलो भएको अवस्थामा उपचारमा धेरै जटिलता आउन सक्छन् । यो घटनामा बिरामीलाई एमआरआई गर्दा मस्तिष्कमा ठूलो ट्युमर देखियो । तुरुन्त ब्रेनको प्रेसर घटाउनेलगायतका अन्य औषधिहरु दिएर होसमा ल्याइएको थियो । उहाँको उपचारमा न्युरोइन्टरभेन्सन तथा ओपन सर्जरी दुवै पद्धति प्रयोग गरिएको थियो । उहाँमा भास्कुलर ट्युमर भएका कारण ट्युमरभित्र रगतका नसाहरु धेरै गुजुल्टिएका थिए । यसले शल्यक्रियाको क्रममा धेरै रक्तश्राव भएर जोखिम हुनसक्ने भएकाले न्युरो इन्टरभेन्सनबाट ट्युमरमा जाने मुल रगतको नली ब्लक गर्नुपरेको थियो । यसलाई इम्बोलाइजेसन भनिन्छ । त्यसको भोलिपल्ट शल्यक्रिया गरेर ट्युमर निकालियो । उपचारका क्रममा धेरै रक्तश्राव भएन र कम समयमा उपचार सफल भयो । प्रायः शल्यक्रिया गर्दा धेरै रक्तश्राव हुने सम्भावना बोकेका ट्युमरहरुमा इम्बोलाइजेसन गनुपर्ने हुनसक्छ ।

कतिपय ब्रेन ट्युमरमा लक्षण देखिदैन । प्रायजसो टाउको दुख्ने, बान्ता हुने, रिंगटा लाग्ने गरेको पाइन्छ । ट्युमरको लक्षण ट्युमर अवस्थित भागसँग सम्बन्धित हुन्छ । जस्तैः आँखा देख्ने भागतिर ट्युमर भएमा आँखा कमजोर हुने, कानको नसाहरु आउने ठाउँमा भएमा कान नसुन्ने, हातखुट्टा चलाउने ठाउँमा भएमा प्यारालाईसिस हुने आदि ।

“ब्रेनमा ट्युमरका ४ ग्रेडिङ हुन्छन् । यसमा लो ग्रेड (एक र दुई) क्यान्सर नभएको बिनायन ट्युमर हुन्छन् भने हाइ ग्रेड (तीन र चार) जटिल प्रकारका क्यान्सर हुनसक्छन् । लो ग्रेड ट्युमर भएका व्यक्तिले शल्यक्रिया गरेर बर्षौसम्म सामान्य जीवन बिताउन सक्छन् भने हाइ ग्रेडमा शल्यक्रियापछि केमोथोरापी तथा रेडियोथेरापीको जरुरत पर्छ । हाल नेपालमा ब्रेन ट्युमरसम्बन्धि सबै किसिमका उपचार पद्धतिहरु उपलब्ध छन् ।”

न्युरो इन्टरभेन्सन पद्धतिबाट गर्न सकिने अर्को महत्वपूर्ण उपचार भनेको मस्तिष्कको रगतको नसा अवरुद्ध भएर मस्तिष्कमा आवश्यक मात्रामा रगत नपुग्ने किसिमको मस्तिष्कघात (स्केमिक स्ट्रोक) मा अवरुद्ध भएका नसाहरु खोलेर मस्तिष्कमा पुनः रगत सुचारु गर्ने हो । यस प्रकारका बिरामीहरुमा लक्षण शुरु भएको ६ घण्टाभित्र उपचार गर्न सकेमा प्यारालाईसिस समेत निको भएका धेरै उदाहरणहरु छन् । तसर्थ मस्तिष्कघातमा समयको महत्वसम्बन्धि जनचेतना हुनु अति आवश्यक छ ।

 

Source: https://nepalhealthnews.com/news/2021/09/16/37911.html