जोर्नी दुखाइका भ्रम र सही उपचार

30 January 2022

हाड–जोर्नीसम्बन्धी समस्या धेरैले भोगेका हुन्छन्, जसमध्ये कतिपय भ्रमपूर्ण उपचारमा अल्मलिन्छन् । आफूखुशी क्याल्सियम, भिटामिड ‘डी’ खानाले मिर्गौला र मुटुमा असर गरेको पत्तै हुँदैन । जोर्नी दुखेकोमा तातोले सेक्नुपर्छ भन्ने धेरैमा भ्रम छ । कतिपयलाई गेडागुडी खाएर जोर्नी दुख्यो भन्ने भ्रम छ । केही मानिस खानाभन्दा औषधि नै सही हो भन्ने भ्रममा महँगा सप्लिमेन्टहरु खाइरहेका छन् । कोही विज्ञापनको भर परेर हड्डी खिइएकोमा तेल मालिसको भ्रममा छन् भने कतिपयचाहिँ सामान्य औषधि, व्यायाम र जीवनशैली परिवर्तनले हुने उपचारमा पनि अपरेसन नै गर्नुपर्ने चंगुलमा परिरहेका छन् । जोर्नी दुख्ने समस्यामा मानिसहरुले कस्ता भ्रम पालिरहेका छन् र सही उपचार के हुन सक्छ ? के जोर्नी दुख्दैमा अपरेसन नै गर्नुपर्ने, प्रत्यारोपण नै गराइहाल्नुपर्ने हुन्छ त ?

यससम्बन्धमा ह्याम्स अस्पतालको हाड–जोर्नी तथा ट्रमा विभागका प्रमुख (जोर्नी प्रत्यारोपण विशेषज्ञ) डा. भाष्करराज पन्तसँग कुराकानी गरी यो लेख तयार गरिएको छ । जोर्नी प्रत्यारोपणमा एक वर्षे फेलोसिप (अमेरिका) गरेर नेपालमा दर्ता हुने पहिलो अर्थोपेडिक सर्जन डा. पन्त यस किसिमको फेलोसिप गर्ने नेपालका थोरै अर्थोपेडिक सर्जनमध्ये पर्नुहुन्छ । हाड–जोर्नी उपचार, भ्रम र यथार्थताका सम्बन्धमा उहाँका विचार आफ्नै शब्दमा :

जोर्नी प्रत्यारोपण भनेको के हो ?

‘शरीरका जोर्नी चल्नका लागि हड्डीहरुको बीचमा कुरकुरे हड्डी आदि हुन्छ, जसले कुसनको काम गर्छ । घुँडाको कुरा गर्ने हो भने त्यहाँ लिगामेन्ट हुन्छ, मिनिस्कस, कुरकुरे हड्डी हुन्छ । जब चोट वा बाथ वा उमेर अनुसार हाड खिइने क्रमको कारणले कुरकुरे हड्डीले काम गर्न सक्तैन, त्यो बेला जोर्नी चल्नका लागि अपरेसनमार्फत कृत्रिम वस्तु राखिन्छ । यस प्रक्रियालाई जोर्नी प्रत्यारोपण भनिन्छ ।
तस्बिर : उजोल डंगोल

हाम्रो समाजमा कतिपयले जोर्नी प्रत्यारोपण पनि मिर्गौला प्रत्यारोपणजस्तै अर्काको झिकेर राख्ने हो कि भनेर सोच्ने गरेको पाइन्छ तर कसैको जोर्नी ल्याएर हाल्ने होइन । जोर्नी पहिलेको जस्तो चल्ने बनाउन खिइएकोे भाग निकालेर कृत्रिम वस्तु राख्ने हो । यो विभिन्न किसिमका धातुबाट बनाइएको हुन्छ ।

बीचमा चाहिँ कुरकुरे हड्डीजस्तै सेतो देखिने तत्व (वासर) राखिन्छ । यसले गर्दा जोर्नी चल्न सजिलो हुन्छ । यो तत्व एक्सरेमा देखिँदैन, धातुचाहिँ देखिन्छ । यसले गर्दा एक्सरेमा पहिलाको जस्तै बीचमा ग्याप देखिन्छ ।

दुख्दैमा जोर्नी प्रत्यारोपण गर्नुपर्दैन

अधिकांश जोर्नी दुखाइमा प्रत्यारोपण आवश्यकता पर्दैन । जोर्नी दुखेर उपचारमा आएको बिरामीको एक्सरे, एमआरआई रिपोर्ट हेरेर मात्र प्रत्यारोपण गर्नुहुँदैन । डाक्टरले एक्सरे मात्र हेर्ने र बाँकी पाटोहरु नबुझ्ने हो भने बिरामीको सही उपचार हुँदैन ।

बिरामीको घुँडा लुज छ कि छैन, अड्किन्छ/अड्किँदैन, आवाज आउँछ/आउँदैन, त्यो हेर्नुपर्छ । अरु विभिन्न रोगका कारणले पनि जोर्नी दुखेको हुन्छ । त्यसको जाँच गरेर पहिला उपचार गर्नुपर्छ । बिरामीको दैनिक जीवनशैली, मोटोपनको अवस्था, लगाएको जुत्ता, खानपान आदिबारे जानकारी लिएर आवश्यकता अनुसार सुधार गराउनुपर्छ ।

यसबाट नै जोर्नी दुखाइ कम हुँदै गयो भने जोर्नी प्रत्यारोपण गर्नुपर्दैन । तर ठीक भएन, जोर्नी बिग्रिँदै गयो, खिइएको पनि तेस्रो चरणमा पुगिसकेको छ, दैनिक जीवन चलाउन नै गाह्रो भएर ह्वील चेयर नै चाहिने, ओछ्यानमा नै पर्न थालेको अवस्था छ भनेचाहिँ जोर्नी प्रत्यारोपण गर्नुपर्छ ।

जोर्नी प्रत्यारोपणको आवश्यकता सामान्यतया बढी उमेरको मानिसलाई पर्ने भए तापनि विभिन्न कारणले गर्दा कम उमेरमै पनि पर्न सक्छ । हामीले बढीमा ९८ वर्षको र कम उमेरमा २२ वर्षको युवाको जोर्नी प्रत्यारोपण गरेका छौँ । उक्त युवाले कुनै रोगको कारण स्टेरोइड समूहको औषधि खानुपरेको थियो ।

शायद त्यसै कारण उसको हड्डी भित्रभित्रै मक्कियो र उसको हिपको जोर्नी फेर्नुपर्‍यो । विनाकारण पनि हड्डी मक्किन सक्छ तर स्टेरोइड समूहका औषधिले बढी मक्किने गर्छ । हाम्रो बजारमा विनालेवलका आयुर्वेदिक वा अरु कुनै नामका धूलो, गोली, झोल आदि स्वरुपका औषधिहरु निर्बाध बिक्री हुन्छन् ।

जडीबुटी, आयुर्वेदिक भनिए पनि तिनमा एलोपेथिक अन्तर्गतको स्टेरोइड औषधिको मात्रा अत्यधिक पाइएको औषधि व्यवस्था विभागबाट परीक्षण गराउँदा प्रमाणित भएको छ । यस्ता औषधिले पनि थाहा नपाई मानिसको हड्डी कमजोर बनाएको हुन्छ ।

श्वासप्रश्वाससम्बन्धी (COPD) रोग, बाथको रोगका लागि पनि स्टेरोइड समूहको औषधि प्रयोग गरिएको हुन्छ । उनीहरुको पनि हड्डी मक्किएको हुन्छ । यस्ता बिरामीलाई त्यस्ता औषधि लेख्ने डाक्टर आफैँले वा सम्बन्धित डाक्टरलाई रिफर गरेर अस्टियोपोरोसिसको उपचार पनि सँगसँगै गर्नुपर्छ । त्यस्तै कुनै कारणले पाठेघर झिकिएको छ भने गाइनोक्लोजिस्टले सम्बन्धित चिकित्सकसँग परामर्श गरेर हर्मोनल ब्यालेन्स गराउनुपर्छ । यसो नगर्दा भविष्यमा जोर्नी प्रत्यारोपणको आवश्यकता पर्ने हुन सक्छ ।

इन्फेक्सन, ट्युमरले र स्त्रीहरुमा मेनोपोजको कारणले पनि जोर्नी बिग्रिन सक्छ । त्यस्तोमा पनि जोर्नी प्रत्यारोपण गर्ने गरिन्छ । बाथ (रिमोट्रोइड अर्थराइटिस) भएका बिरामीमध्ये कसैलाई उपचार गर्दागर्दै र कसैलाई उपचार नपाएर पनि हाड–जोर्नीसम्बन्धी समस्या हुन सक्छ । यो रोगले छिट्टै जोर्नी खाने भएकाले कम उमेरमै जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ । चोटपटक लागेपछि हड्डीको भित्री भाग चकनाचुर भयो र जोर्नी बनाउन सकिएन भने पनि प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

वृद्धावस्थामा विभिन्न कारणले हाडहरु कमजोर हुने भएकाले लडेर, ठोक्किएर भाँचिन सक्छ । त्यस्तै डिमेन्सिया, पार्किन्ससलगायत विभिन्न मानसिक रोग लागेका मानिसको कुनै कारणले जोर्नी फेर्नुपर्ने अवस्था आयो भने तुरुन्तै उपचार गर्नुपर्छ । यस्ता मानिसलाई अरुलाई जस्तो शुरुमा बैसाखी, वाकर, लठ्ठी टेकाएर हिँडाउन सम्भव नहुने भएकाले भोलिपल्टैदेखि खुट्टा टेकेर हिँड्न मिल्ने गरी उपचार गर्नुुपर्ने हुन्छ । हामी त्यस्तालाई अपरेसन गरेको दुई घण्टापछि नै हिँड्न मिल्ने गराउँछौँ ।

शुरुमै कसरी थाहा पाउने ?

दिनभरि हिँड्दा, काम गर्दा ठीकै हुने तर राति सुतेपछि छटपटी हुने, जोर्नी एकदमै टन्किएजस्तो हुने, दुख्ने हुन्छ । अर्थात् शुरुमा काम गरेका बेला थाहा नहुने तर आराम गरेका बेला पीडा हुन्छ । त्यो भनेको लोड परेका बेला मासु (झिल्ली) तन्कियो, खुम्चियो, सुन्नियो अनि आराम गरेका बेला दुख्न थालेको हो ।

यस्तो प्रारम्भिक चरणमै किन मलाई दुख्यो, मैले के–के गरेको, के–के खाएको, कस्तो जुत्ता लगाएको थिएँ भनेर सोच्नुपर्छ र आफैँले करेक्सन गर्नुपर्छ । कसैले भर्खरै योग शुरु गरेको छ, पलेटी कसेर बसेको छ, जुम्बा, जीम गएको छ भने पनि दुख्न थाल्छ ।

खानपान र यी सबैमा परिवर्तन गरेपछि पनि सुधार भएन भने डाक्टरसँग सल्लाह लिनुपर्छ । डाक्टरद्वारा पनि शुरुमा खानपान र जीवनशैली सुधारका कार्यहरु सिकाउने गरिन्छ । यसबाट समाधान नभए मात्र जोर्नी प्रत्यारोपणबारे सोचिन्छ ।

आवश्यकताको आधारमा प्रत्यारोपण

‘हामीले एक्सरे, एमआरआईजस्ता रिपोर्टका आधारमा मात्र जोर्नी प्रत्यारोपण गर्ने होइन, बिरामीको उपचार गर्ने हो ।’ जस्तो– मैले एक्सरेको रिपोर्ट हेरेँ । यसका आधारमा ‘ओ हो गे्रड थ्री पुगिसकेको रहेछ जोर्नी फेरिदिऊँ’ भनेँ तर त्यो मानिस खेत खनिरहेको छ भने त्यो सही हुँदैन ।

किनभने गाउँमा ९० वर्षको मानिसको एक्सरे हेर्दा घुँडा खिइसकेको देखिन्छ तर खेत खनिरहेको, राम्ररी हिँडिरहेको भेटिन्छ । किनकि उसले त्यसलाई आफ्नो दैनिक जीवन अनुकूल बनाइसकेको हुन्छ । यस्तोमा जोर्नी फेर्नुपर्दैन ।

जसलाई हिँड्न, बस्न नै कठिनाइ छ, पीडा खप्न नसक्ने अवस्था छ, उसको चाहिँ फेर्नुपर्छ । रिपोर्ट हेरेर होइन कि उसको पीडा, दैनिक जीवनयापन आदि हेरेर आवश्यकताको आधारमा प्रत्यारोपण गर्ने हो । जोर्नी प्रत्यारोपण धेरै किसिमका छन् । एउटा सिमेन्ट राखेर गर्ने र अर्को सिमेन्ट नराखी गर्ने (प्रेसफिट) हुन्छ । घुँडामा बोन सिमेन्ट राखिन्छ ।

एकापट्टि सिमेन्ट राख्ने र अर्कोपट्टि नराख्ने पनि छ । त्यस्तै लिगामेन्ट सफा गरेर वा हटाएर गर्ने र अर्को भइरहेको लिगामेन्ट बचाएर प्रत्यारोपण गर्ने विधि पनि छ । के कारणले जोर्नी फेर्नुपरेको हो, त्यस आधारमा प्रत्यारोपणको किसिम छनौट गरिन्छ ।

हिप र घुँडाको जोर्नी धेरै फेरिन्छ

आवश्यकता पर्दा त सबै जोर्नी फेर्न सकिन्छ तर सबैभन्दा बढी हिप (कम्मरनिरको), त्यसपछि घुँडाको जोर्नी फेरिन्छ । यी जोर्नीहरु हिँड्नका लागि अत्यावश्यक हुन् । यिनले काम गर्न सकेनन् भने ह्वील चेयरमै हिँड्नुपर्ने, ओछ्यानमै पल्टिरहनुपर्ने हुन सक्छ ।

कुमको जोर्नी खिइएर काम गर्ने मुख्य हात नै चलाउन नमिल्ने भयो भने, अति आवश्यक काम गर्ने मानिसको वा कलिलो उमेरमै कुहिनाको जोर्नीमा क्षति पुग्यो भने, कुर्कुच्चाको गोलीगाँठाको जोर्नी खिइयो र चल्नै नसक्ने भयो भने पनि फेर्ने गरिन्छ । बिरामीको आवश्यकताका आधारमा यस्तो प्रत्यारोपण गरिन्छ ।

जोर्नी जोगाउने उपाय

हाड–जोर्नी बिग्रिने, खिइने समस्याबाट बच्नका लागि खानपान एवं जीवनशैलीमा सुधार गर्नु सबैभन्दा महत्वपूर्ण हुन्छ । शरीर मोटो होइन बलियो बनाउनुपर्छ, अर्थात् मांसपेशी, हड्डी बलियो बनाउने तर बोसोयुक्त फोक्से मासु बढ्न नदिने ।
खेत जोत्नेले जस्तो खाने अनि गाडीमा हिँड्ने, टेबल वर्क गर्ने, व्यायाम नगर्ने गर्दा मोटोपन बढ्छ ।

शारीरिक काम धेरै गर्ने हो भने कार्बोहाइड्रेड, प्रोटिन जे खाए पनि हुन्छ । घिउ, मासु पनि प्रशस्त खान सकिन्छ । तर शारीरिक कार्य नगर्ने, व्यायाम पनि कम गर्ने हो भने यस्ताले खाना घटाउनुपर्छ ।

सिसी, बट्टा, प्लास्टिकमा बन्द गरिएका बजारिया जंक फूड खानुहुँदैन, यस्ता वस्तु खाँदा आश्चर्यजनक ढंगले मोटोपन बढ्छ । उमेर बढी भइसकेको छ, घुँडा खिइन थालेको छ भने अग्लो भर्‍याङ धेरै चढ्ने–झर्ने, उकालो–ओरालो हिँड्ने, पलेटी कसेर बस्ने गर्नुहुन्न । त्यस्तै ट्वाइलेटको प्यानमा बस्न गाह्रो छ भने कमोटमा बस्नुपर्छ ।

चिसोले जोर्नी दुख्छ भन्ने आम मानिसको बुझाइ छ । त्यसो हो भने हिमाली क्षेत्रका धेरै मानिसलाई जोर्नी दुख्नुपर्ने हो । डाँडाकाँडामा हिँडेर जोर्नी दुख्ने भए पहाड–पखेरामा जीवन गुजारिरहेकाहरुको बढी दुख्नुपर्ने हो, तर त्यसो भएको पाइँदैन । त्यहाँ ६०–७० वर्षका मानिस खेतबारीमा काम गरिरहेका हुन्छन्, उकालो–ओरालो हिँडिरहेका हुन्छन् ।

जसले जुन ठाउँको भौगोलिक परिस्थिति अनुसार प्राकृतिक जीवनशैली र खानपान अपनाएको छ त्यो ठाउँका लागि त्यही सही हुन्छ । गाउँका दूरदराजका मानिसलाई स्पोर्टस सुज लगाएर हिँड, उकालो–ओरालो नहिँड भनियो भने त्यो गलत हुन्छ । सानैदेखिको जीवनशैली जस्तो छ त्यस्तै हुन दिनुपर्छ ।

शहरमा बस्ने, गाडी चढ्ने मानिसलाई पाँच तला चढ्न लिफ्ट चाहिने हुन सक्छ । कि त उसको सानैदेखि हिँड्ने, व्यायाम गर्ने खालको जीवनशैली हुनुपर्‍यो । त्यही भएर अहिले हुनेखाने शहरियाहरु साइकल चलाउने, जीम जाने, हाइकिङमा जाने गर्छन् । गाउँ, पहाडको बस्तीमा बस्नेलाई यो आवश्यकता पर्दैन । गाउँको मानिस जसरी हुर्कियो त्यसै गरी जिउँदा समस्या हुन्न ।

जब गाउँमा खेतबारीमा काम गरेका बाबुआमालाई छोराछोरीले शहरमा ल्याएर राखिदिन्छन् अनि त्यहाँ समस्या शुरु हुन सक्छ । किनकि त्यहाँ अचानक प्रतिकूल जीवनशैली अपनाउन थालिन्छ ।

लगभग ३० वर्ष टिक्छ

जोर्नी प्रत्यारोपण गरेपछि सामान्यतया २८ देखि ३२ वर्षसम्म टिक्छ । कम्पनीअनुसार केही फरक हुन्छ । मैले २२ वर्षको युवाको जोर्नी फेरेँ भने उसलाई पछि पुनः फेर्र्नुुपर्ने हुन सक्छ । तर सबै नफेरेर बीचको वासर मात्र फेर्दा पनि हुन सक्छ ।
जोर्नी बिग्रिँदा सकेसम्म अरु विभिन्न प्रविधिको प्रयोग गरेर बिरामीलाई सहज बनाई जोर्नी ढिलो प्रत्यारोपण गर्नु राम्रो मानिन्छ । एउटै प्रत्यारोपणले जीवनभर पुग्दा राम्रो हो ।कसैको लडेर, संक्रमण भएर छिट्टै बिग्रिन पनि सक्छ । यस्तोमा कम उमेरमा गर्नेको जस्तै दोहोर्‍याउनुपर्ने हुन सक्छ ।

प्रत्यारोपण कत्तिको भरपर्दो ?

जोर्नी प्रत्यारोपणका लागि नेपालमा ढुक्क हुने स्थिति छ । अहिलेको नयाँ पुस्ता धेरै राम्रा प्रविधि पढेर आएका छन् । हुन त ज्ञान प्राप्त गरेर मात्र हुँदैन । अपरेसन थिएटर इन्फेक्सन नहुने स्तरीय हुनुपर्छ । साथै फिजिसियनको टिम राम्रो हुनुपर्छ । कसैलाई सुगर, कसैलाई प्रेसर समस्या हुन सक्छ, यसलाई ब्यालेन्स गर्न सक्ने हुनुपर्छ । एनेस्थेसिस्ट राम्रो हुनुपर्छ ।

प्रत्यारोपणपछिको पुनस्र्थापनाको लागि फिजियो थेरापी पनि प्रभावकारी हुनुपर्छ । यी सबै राम्रो हुँदा मात्र राम्रो रिजल्ट दिन सकिन्छ ।देशका प्रायः सबै ठूला अस्पतालमा राम्रा अपरेसन थिएटरहरु छन् । त्यसमा पनि फुल टाइम समय दिने चिकित्सक भएको स्थानमा नै अपरेसन गर्नु राम्रो हो । विदेश जाँदैमा राम्रो हुन्छ भन्ने हुँदैन ।

खर्चको हिसाबले भन्ने हो भने जोर्नी प्रत्यारोपणका लागि नेपालमा ३ लाखदेखि १४ लाखसम्म पर्छ । जोर्नीभित्र राख्ने सामान महँगो हुन्छ । यसमा सस्तोभन्दा गुणस्तरीय र भरपर्दो वस्तु नै राख्नुपर्छ । सबै डिस्पोजेबल वस्तुहरु प्रयोग हुन्छन् । यसै कारण खर्च अलि बढ्न जान्छ । यो अपरेसनमा सामान्यतया ३ रातको अस्पताल बसाइ हुन्छ ।

त्यसपछि घरमै एक्सरसाइज गर्न सकिन्छ । जीवनको गुणस्तरमा आश्चर्यजनक सुधार हुन्छ । पाँच–सात वर्षसम्म अपरेसन गर्दिन भनेर ओछ्यानमै परेकाहरु पनि ह्वील चेअरमा आएर अपरेसनपछि तीन दिनमै हिँडेर घर गएका थुप्रै केसहरु छन् । कसैलाई दुई हप्तासम्म, कसैलाई ६ हप्तासम्म वाकर, बैसाखी, लठ्ठीको सहारा चाहिन सक्छ । तर ६ हप्तापछि कसैलाई पनि यस्तो सहारा चाहिँदैन ।

प्रत्यारोपणपछिका सावधानी

जोर्नी प्रत्यारोपणपछि उफ्रिने, रुख चढ्ने, हाम फाल्नेजस्ता चोटपटक लाग्ने जोखिमयुक्त कार्य गर्नुहुँदैन । जुत्ता सजिलो लगाउनुपर्छ । हिँड्ने, बस्ने, व्यायाम गर्नेबारे डाक्टरको परामर्श अनुसार चल्नुपर्छ । सुन्निएको छ भने अग्लो बनाएर सुत्नुपर्छ, सामान्यतया भोलिपल्ट बस्छ ।

भ्रम र यथार्थता

हड्डी खिइएर दुखेकोमा तातोले सेक्नुपर्छ भन्ने धेरैमा भ्रम छ । तातोले एकछिन् आनन्द दिए पनि परिणाम राम्रो हुन्न । यसो गर्दा झन् बिग्रिने, सुन्निने हुन्छ । चिसोले सेक्दा फाइदा हुन्छ । चिसोले सेक्ने भनेको धेरै चिसो पार्ने होइन, सेलाउने मात्र हो । कसै–कसैले चिसोले सेकाउने भनेर बरफ राखी नीलो बनाएर आएको पनि पाइन्छ, त्यो पनि गलत हो ।

हामीकहाँ हाड–जोर्नी बलियो बनाउने भन्दै आफूखुशी क्याल्सियम, भिटामिड ‘डी’ खाने गलत चलन छ । भिटामिन ‘डी’ धेरै खाँदा शरीरमा विषाक्तता बढ्छ । यसले मिर्गौलामा क्षति गर्छ । त्यसैले मिर्गौलाका बिरामीलाई अर्कै खाले भिटामिन ‘डी’ खुवाउने गरिन्छ । क्याल्सियम पनि आफूखुशी किनेर खाँदा हानि गर्छ । बढी क्याल्सियम खायो भने मुटुको मांसपेशी, भल्भलाई असर गर्न सक्छ ।

त्यसैले भिडामिन ‘डी’, क्याल्सियम नजँचाई खानुहुँदैन । बरु खानाबाट नै यस्ता तत्व प्राप्त गर्नुपर्छ । जस्तो– दूध र अण्डा खाए प्रशस्त क्याल्सियम पाइन्छ । अण्डाको पहेँलो भागमा भिटामिन ‘डी’ पाइन्छ । एकथरी मानिस अण्डाको पहेँलो भागमा कोलेस्ट्रोल हुन्छ, अण्डाले युरिक एसिड बढ्छ, खानै हुन्न भन्ने भ्रममा छन् । यस्ता भ्रम तोड्नुपर्छ ।

अण्डा खान हुन्छ तर एक्सरसाइज नियमित गर्नुपर्छ । दाल, गेडागुडी, च्याउ, बियाँहरुमा पनि भिडामिन ‘डी’ पाइन्छ । घाममा बस्नु पनि भिटामिन ‘डी’का लागि लाभदायक छ । घिउ पनि राम्रो खानेकुरा हो, खाँदा हुन्छ । मानिसले खाएका अरु कतिपय खानेकुराहरु शरीरमा घोलिएर शोषित हुनका लागि चिल्लोको आवश्यकता पर्छ ।

कतिपय मानिस ‘हिजो दाल, गेडागुडी खाएकाले आज जोर्नी दुख्यो’ भन्ने गर्छन् । हिजो खाएर आज दुख्ने हुँदैन । युरिक एसिड बढ्दैमा घुँडा दुख्छ भन्ने हुँदैन । किड्नी रोग भएकालाई युरिक एसिड बढी हुन्छ । उनीहरुमा जोर्नी दुखेको प्रायः पाइँदैन । दुई–चार दिन पानी प्रशस्त खाइएन भने पनि युरिक एसिड बढ्न सक्छ, छिट्टै आत्तिनुहुँदैन ।

अहिले कतिपय मानिसहरुले खानाहरुचाहिँ खराब र औषधिचाहिँ सही हो भन्ने भ्रममा परेर महँगा सप्लिमेन्टहरु खान थालेका छन् । यो बुझाइ गलत छ । विज्ञापनका भरमा परेर, ‘विनाअपरेसन जोर्नी ठीक भएका’ कुरा अन्तर्वार्तामा सुनेर त्यसको पछि लाग्नु गलत हो ।

यसले ठीक हुँदैन । यस्ता गलत विज्ञापनको भरमा परेर उपचार गर्ने धेरै बिरामीहरु पछि हामीकहाँ आइपुग्दा हाड–जोर्नी प्रायः ध्वस्त भइसकेको अवस्था हुन्छ । समस्या अलि–अलि हुँदैमा आएमा यस्तो अवस्था आउँदैन । विदेशमा यस्ता भ्रमपूर्ण विज्ञापन प्रकाशन गर्न पाइँदैन, हामीकहाँ जे पनि विज्ञापन गरेको देखिन्छ । सरकार, नेपाल मेडिकल काउन्सिलले हेर्नुपर्ने हो । हाम्रा लोकप्रिय टेलिभिजनलगायतका सञ्चारमाध्यमले यस्ता भ्रमपूर्ण जानकारी प्रकाशन, प्रसारण गर्नुहुँदैन ।

उपचार इन्सेन्टिभवेस्ड नहोस्

स्वास्थ्य उपचारलाई इन्सेन्टिभवेस्ड बनाउनुहुँदैन, यसले स्वास्थ्य सेवामा व्यापारीकरण हुन्छ । जोर्नी प्रत्यारोपणमा नयाँ–नयाँ कुरा आइरहेका छन् । जस्तो– आज हामी खेलाडीहरुको कम उमेरमै कार्टिलेज खिएको देख्यौँ भने इन्जेक्सन लगाउँछौँ, पहिला यो कुरा थिएन । तर यही इन्जेक्सन बूढाबूढीमा लगाउँदा गलत हुन्छ, तर पनि नेपालकै एकथरी डाक्टरहरुले लगाइरहेको पाएको छु ।

बिरामीले औषधि पसलमा क्याल्सियम माग्यो भने पसलेले दिन्छ । खान आवश्यक हो कि होइन भनेर सिकाउने उसको काम होइन, चिकित्सकको काम हो । चिकित्सकले सिकाउनुपर्छ । तर चिकित्सक नै इन्सेन्टिभ लिएर व्यापारीकरणतिर गएको छ भने सिकाउँदैन । ‘हामी डाक्टर भनेका रोगबाट बच्न र स्वस्थ रहन सिकाउने मानिस हौँ ।  बिग्रिइसकेपछि उपचार गर्न र टालटुल पार्न मात्र बसेका होइनौँ ।’ यो बुझ्न जरुरी छ । हाम्रो उद्देश्य आवश्यकता परे १० प्रतिशतभन्दा कमलाई मात्र जोर्नी प्रत्यारोपण गर्ने हो । ९० प्रतिशतलाई विनाप्रत्यारोपण उपचार गर्न सके मात्र हाम्रो सार्थकता हुन्छ । यसका लागि बिरामीलाई जीवनशैली परिवर्तन गर्नेलगायत अन्य आवश्यक जानकारी दिनुपर्छ ।’

 

Source: https://www.newsofnepal.com/2022/01/28/468865/