एपेन्डिसाइटिस भनेको के हो ? यसबाट कसरी बच्ने ?

24 February 2022

– डा. अनुज पराजुली : जनरल एवम् कोलोरेक्टल सर्जन, ह्याम्स अस्पताल ।

 

मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र ठुलो आन्द्रा को पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रा लाई हामी ‘एपेन्डिक्स’ भन्छौ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आम व्यक्तिको सहजताका लागि यसलाई ‘जुके आन्द्रा पनि भन्ने गरिन्छ । पुरानो मान्यता अनुसार यस अंगको खासै केही काम नभएको भन्ने मानिएता पनि नयाँ खोज तथा अन्वेषणबाट यस अंगले आन्द्रालाई आवश्यक पर्ने लाभदायक जीवाणु दिनुका साथै विभिन्न रोगसंग लड्न सहयोग गर्ने तथ्य पुष्टि भएको छ ।

तर, विभिन्न कारणवश् यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै  पाँकेर आउने र फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ । यही एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाइटिस’ भनिन्छ । व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ ।

यसका कारणहरु

मुख्यतया: विभिन्न कारणवश् एपेन्डिक्सको नलीमा अवरोध उत्पन्न जादा व्यक्तिलाई यस समस्याले सताउने गरेको पाइन्छ । त्यसबाहेक आन्द्रामा ग्याँस भरिनु, पेटमा कुनै गहिरो चोट लाग्नु र पाचन नलीको संक्रमण हुनु पनि यसका अन्य प्रमुख कारण हुन् । अन्यथा अत्यन्त न्युन प्रतिशत व्यक्तिमा मात्रै क्यान्सर वा रगतका कारण एपेन्डिक्समा संक्रमण हुने गर्दछ।

लक्षणहरु

-सर्वप्रथम बिरामीलाई नाभी वरपरि दुखाईको महशुस हुनु र उक्त पीडा विस्तारै पेटको दाहिने भागतर्फ सर्दै जानु

–भोक नलाग्नु

–वाकवाकी तथा बान्ता हुनु

–कब्जियत वा झाडा लाग्नु

-दुखाईसंगै शरीरमा ज्वरोको मात्रा बढ्दै जानु

–खोक्दा, हिड्दा तथा शरीर चलाउँदा असहज महशुस हुनु

–पेटमा ग्याँस भरिनु

– र, शरीरबाट ग्याँस बाहिर निस्कनमा कठिनाई हुनु ।

आवश्यक जाँचहरु

एपेन्डिसाइटिसको पहिचान मुख्य रुपमा चिकित्सकको जाँचमा निर्धारित हुन्छ। व्यक्तिलाई संक्रमणनै भएको हो वा होइन भन्ने सुनिश्चितताका लागि बिरामीको पेटको भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) गरिन्छ । तर, अल्ट्रासाउण्डमार्फत सबै व्यक्तिको एपेण्डिसाइटिस  पहिचान हुन्छ नै भन्ने छैन ।

शरीरभित्र एपेन्डिक्स कुन अवस्थामा बसेको छ ? भन्ने कुरा पनि अत्यन्त महत्व राख्दछ । जसकारण पनि अल्ट्रासाउण्ड गराएकाहरुमा पनि कुलमध्ये ६० प्रतिशत व्यक्तिको मात्रै एपेन्डिक्सको पहिचान गर्न सकिन्छ ।  अन्यको भने थप जाँच जस्तै रगत एवम् पिसाब परीक्षण, सीटी स्क्यान  तथा एमआरआई नै गर्नुपर्ने हुन्छ ।

जोखिम न्यूनीकरणका उपायहरु

हालसम्म यी–यी उपायले एपेन्डिटाईटिस रोकथाम गराउँछ भन्ने कुराको वैज्ञानिक रुपमै प्रमाणित भएको छैन । यद्यपि उच्च फाइबरयुक्त खाना, अन्नको अत्याधिक सेवन, ताजा फलफुल तथा हरियो तरकारीले भने यसको जोखिमलाई केही हदसम्म कम गराउन मद्दत गर्दछ ।

उपचार

एपेन्डिटाइटिसको उपचारअन्तर्गत शल्यक्रिया र औषधिको प्रयोग गरी दुई प्रक्रियाहरु रहेका हुन्छन् ।

सर्वप्रथम औषधिको प्रयोगद्वारा गरिने उपचारको सन्दर्भमा भन्नुपर्दा यसअन्तर्गत बिरामीमा दुखाईको कमी भएता पनि भविष्यमा पनि सोहि समस्या पुनः नबल्झिएला भन्न सकिदैँन । अर्थात्, औषधिको प्रयोगले तत्कालका लागि दुखाई कम गर्ने भएता पनि पछि गएर अधिकांश बिरामीको एपेन्डिक्स वरपरको आन्द्राहरु टाँसिने(लम्प), फुटेर जाने वा पीप भरिनेजस्ता विविध समस्याहरु देखापर्ने सम्भावना यथावत् नै रहन्छ । यस अर्थमा भन्नुपर्दा शल्यक्रिया नै एपेन्डिटाईटिसका बिरामीको उचित उपचारको पद्दति हो।

यस्तै, अत्याधिक पेटको दुखाई भएर आएका एपेन्डिटाइटिसका बिरामीको हकमा भने तत्काल शल्यक्रिया गर्नु बाहेक अन्य विकल्प रहदैन । यद्यपि शल्यक्रियामा पनि कन्भेशनल(Open Appendectomy/परम्परागत रुपमा गरिदैँ आएको शल्यक्रिया पद्धति) र एडभान्स प्रविधिको प्रयोगबाट गरिने दुई किसिमका शल्यक्रिया पद्धति रहेका छन् ।

ह्याम्स अस्पतालको सन्दर्भमा भने हामीले त्यस्ता बिरामीको शल्यक्रिया ल्याप्रोस्कोपी विधिद्वारा (Laparoscopic Appendectomy/शरीरमा स–साना प्वाल बनाई दूरबिनको माध्यमबाट गरिने शल्यक्रिया ) गर्दै आएका छौँ ।

 

Source : https://himalayapost.com/archives/199016