ह्याम्सका अध्यक्ष भन्छन्– हामीलाई विश्वास गर्नुस, अब उपचारका लागि कोही विदेश जानुपर्दैन

23 December 2018

९ असोज,काठमाडौं । २० वर्षअघि मेडिकल उपकरण सप्लाइ व्यवसायीका रुपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका रामशरण भण्डारीको परिचय अब अन्तर्राष्ट्रिय स्तरको अस्पताल सन्चालकका रुपमा फेरिएको छ । ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीले देशका चर्चित र बरिष्ठ विशेषज्ञ डाक्टरहरुलाई एकै ठाउँमा जम्मा गरेर सबैलाई अचम्मित पारेका छन् ।
डा.भगवान कोइराला,डा.अर्जुन कार्की,डा भोला रिजाल जस्ता रिजेण्ड डाक्टरहरु अब ह्याम्स अस्पतालमा भेटिनेछन् । दुई दशकअघि डा.उपेन्द्र देवकोटा र मधु घिमिरेले स्थापना गरेको ह्याम्स अस्पताललाई उनले अन्तर्राष्ट्रिय मापदण्डको संरचना र प्रबिधि सहितको अस्पतालमा फेरेर धुम्बाराहीमा बिस्तार गरेका छन् ।

सिन्धुपाल्चोकमा जन्मिएका युवा व्यवसायी भण्डारीले खाडिचौरमा सिन्धु सदावहार अस्पताल सन्चालन गरेर स्वास्थ्य सेवामा हात हालेका थिए । पछिल्लो समय ह्याम्स अस्पतालमा ठूलो लगानी सहित किन आए ? हामीले उनीसँग यहिँबाट कुराकानी शुरु गरेका छौं ।

यति ठूलो अस्पताल के सोचेर हात हाल्नुभयो ?

हाम्रो देशमा स्वास्थ्य क्षेत्रमा हुनुपर्ने जुन विकास हो त्यो भएको छैन । जनताको मौलिक हक भनिएको छ शिक्षा र स्वास्थ्य । तर जनताको पहुँचमा अझै छैन । मेरै कुरा गर्नुहुन्छ भने मैले सिन्धुपाल्चोक आफ्नो होमटाउन पनि भएकाले एउटा सानो अस्पताल शुरु गरेँ । मेरो व्यवसाय भनेकै डाक्टरहरुसँग प्रत्यक्ष सम्बन्ध सम्पर्क हुने भएकाले त्यहाँका मान्छेले लौन एउटा अस्पताल खोलौं भन्नुभयो । सिन्धुपाल्चोकको खाडिचौरमा सिन्धु सदावहार अस्पताल खोलियो ।

कम्तिमा त्यहाँ अस्पताल खोल्दा त्यस क्षेत्रका मान्छेको अकालमा ज्यान जाने अवस्था नआवस भनेर गरिएको हो । त्यो अस्प्तालले मलाई धेरै दुःख दियो तर अनुभव पनि दियो । जुरेको पहिरो जाँदा पूरै अस्पताल खाली गर्नुपरेको थियो । चलिरहेको अस्पताल जिरोमा आयो । फेरि अस्प्ताल चलायौं तर भूकम्पले पूरै भवन कोल्याप्स भयो । यति दुःख हुँदा पनि मैले त्यो अस्पताल चलाउनैपर्छ भनेर ६ महिनाभित्र आफ्नै भवन बनाएर अस्पताल चलाइयो ।

मैले सिकेको कुरा चाहिँ,त्यो अस्पताल त्यहाँ भएकै कारण मेरो परिवारका सदस्य बाँचेको अनुभव छ । अस्पतालको महत्व के हो भन्ने कुरा मलाई सिन्धु सदावहार अस्पतालले बुझायो । अनि मैले स्वास्थ्य क्षेत्रमा केही ठूलो काम गर्नुपर्छ भनेर सोचिरहेको थिएँ ।

सोच्दा सोच्दै ठूलै आँट्नुभयो होइन ?

नेपालमा निजि जक्षेत्रबाट स्थापित भइसकेका अस्पतालहरुले आफ्नै फाइदाका लागिमात्र गरे । जुनस्तरको सेवा आम मान्छेलाई दिनुपर्ने हो त्यो पुगेन । ती अस्पतालले कमाए राम्रोसँग तर अस्पतालको लागि लगानी गरेर सेवा बिस्तार गरेनन् । जस्तो कि ५० बेडको थियो भने १०० बेडको बनाउनुपथ्र्यो । तर उनीहरुले त्यसबाट कमाएमात्र,सेवा बिस्तार गर्नेतिर लागेनन् । जति छ त्यतिमै बस्ने,लगानीबाट आएको मुनाफा कमाउनेमात्र ध्यान गयो ।

मैले यहि क्षेत्रमा काम गरिरहँदा जुन कुरा महशुस गरेँ त्यसपछि केही नयाँ गर्नुपर्छ भन्ने सोचिरहेको थिएँ । रोग पत्ता लगाउनलाई डाक्टर र प्रबिधि दुवै राम्रो हुनुपर्छ,यस कुराको प्रयोग गरौं भन्ने मैले सोचिरहेको थिएँ । हुन त केही अस्पताल ग्राण्डी,मेडिसिटीहरु नआएका होइनन् तर यतिले पुगेन भन्ने लागेर ह्याम्सलाई अन्तर्राष्ट्रियस्तरको बनाउँ भनेर लागियो ।

अहिले कतिपय अस्पतालले आफैलाई अन्तर्राष्ट्रिय स्तारको भनिरहेका छन, अस्पतालको मापदण्ड नाप्ने कसरी हो ?

तीनवटा कुराले अस्पतालको गुणस्तर मापन गर्न सकिन्छ । एउटा कुरा त अस्पतालको भौतिक संरचनानै हो । जति अत्याधुनिक उपकरणहरु ल्याए पनि अस्पतालको भौतिक संरचना त्यो प्रबिधि र उपकरणलाई राख्ने र व्यवस्थापन गर्ने भएन भने त्यसले काम गर्न सक्दैन ।

दोस्रो कुरा भनेको प्रबिधिनै हो । आजको दिनमा मेडिकल साइन्सले पत्ता लगाएका नयाँ भन्दा नयाँ प्रबिधि हामीले ल्याउनैपर्छ । संसारमा चलेको र संसारले चिनेका जानेका प्रबिधिनै चाहिन्छ । हामीले ती प्रबिधि प्रयोग गर्नैपर्छ ।

तेस्रो भनेको ती प्रबिधि र उपकरण चलाउन जान्ने जनशक्ति र विशेषज्ञ डाक्टरनै हो । प्रबिधि र उपकरणपनि शतप्रतिशत सही हुन्छ भन्ने छैन । मेडिकल साइन्समा कतिपय कुराहरु चाहिँ कमन सेन्सले पनि काम गर्नुपर्ने हुन्छ । यो अनुभव प्राप्त विशेषज्ञ डाक्टरहरु चाहिन्छ ।

यी तीनवटा कुरा भएपछि गुणस्तरीय स्वास्थ्य सेवा दिने र पाउने ग्यारेन्टी हुन्छ । जुन कुरा ह्याम्स अस्पतालले दिनेछ ।

तपाईहरुले लक्षित गर्नुभएको वर्ग चाहिँ कुन हो ?

हामीले अस्पताल बनाउदाखेरिनै अस्पतालको अन्तर्राष्ट्रिय स्टाण्डर्ड एनएबिएच फलो गरेका छौं । यो एनएबिएच फलो गरेर त्यहि लेबलको परामर्शदाता हायर गरेर हामीले भौतिक संरचना बनाएका छौं । यसका साथै देशले चिनेका बरिष्ठ विशेषज्ञ डाक्टर साबहरुको सल्लाह अनुसार यो अस्पतालको संरचना तयार भएको छ । त्यो भनेको के हो भने,हामीले घमण्डका साथ भन्नुपर्छ हाम्रो अस्पतालको स्टाण्डर्ड भनेको अन्तर्राष्ट्रिय स्तर र मापदण्ड पूरा गरेका अस्पताल हो ।

हामीले अन्ततर्राष्ट्रिय मापदण्ड फलो गरेर बनाएका छौं । एनएबीच मापदण्डको अस्पताल भएकाले अन्तर्राष्ट्रियस्तरको सेवा ह्याम्स अस्पतालले दिनुपर्छ । हामीले एनएबीचमा जाने क्रममा रहेकाले सबै सेवा विश्वस्तरकै अस्पतालको दिनुपर्छ । हाम्रो लक्षित वर्ग भनेर कुनै किटान गरेका छैनौं । यहि लेभलको अन्तर्राष्ट्रियस्तरको सेवा सुबिधा जडित नेपालमा अरु जति अस्पताल छन् ती भन्दा यहाँ हामी सस्तोमा उपचार सेवा दिनेछौं ।

यहि स्तरका अस्पताल मध्ये ह्याम्समा कम्तिमा १५देखि २० प्रतिशत कम हुनेछ । स्याउ किन्न जानुभयो भने बजारमा सय रुपैयाको पनि पाउनुहुन्छ, पाँच सय रुपैयाको पनि पाउनुहुन्छ । आम मान्छेको पहुँचभन्दा बाहिर अस्पताल हुनेछैन । त्यसैले कुनै पनि लक्षित वर्ग भन्दा पनि आम नेपाली जनतालाई सहज र सुलभ ढंगले देशभरका नाम चलेका सबै विशेषज्ञ डाक्टरहरुले एकै छानामुनीबाट उपचार सुबिधा दिन गरि अस्पताल सन्चालन गरेका छौं ।

नेपालमा अस्पताल खुलिरहेका छन् तर मान्छे अहिले पनि रोग पत्ता लगाउनकै लागि दिल्लीका अस्पतालमा भिड लागिरहेका छन् किन ?

यो क्रम अहिले शुरु भएको होइन । आजभन्दा दुई चार वर्षअघि म पनि सिरियस खालको रोगको उपचार यहाँ गर्दैन थिएँ । बिगतमा त्यो अवस्था थियो । तर अहिले अहिले नेपालमा राम्रा र अन्तर्राष्ट्रियस्तरका अस्पताल आएका छन् । अब विदेशमा रोग पहिचानकै लागि जाने क्रम रोकिनुपर्छ र केही हदसम्म रोकिएको पनि छ । हामीसँग भएका केही डाक्टरसाबहरुको स्टेटमेन्टनै के छ भने,म आफ्नै अप्रेसन गर्नुपर्ने भयो भने ढुक्कसँग टेबुलमा ढुक्कले सुत्न पाउने अस्पताल हाम्रो लागि पनि चाहियो नि ।

त्यो चीजलाई म्याच गर्ने ढंगले यो अस्पताल बनेको छ । अब रोग डायग्नोसिसकै लागि कुनै पनि नेपालीले विदेश जानुपर्दैन । उपचारका लागि विदेश जानु पर्दैन । हामीलाई विश्वास गर्नुस । ह्याम्समा आबद्ध डाक्टरसाबहरुलाई सबैले चिनेका छन् र उपचार यहीँ सम्भव छ । ह्याम्स अस्पताललाई हामीले नेपालको टप फाइभभित्र पार्छौ र पार्ने गरि बनेको छ ।

देशका कहिलएका चर्चित डाक्टरहरु जम्मा गर्नभयो,त्यो चाहिँ कसरी ?

यो चाहिँ संयोग भन्नुपर्छ । म आफूलाई फर्केर हेर्दा सामान्य व्यक्ति हुँ । धेरै दुःख गरेर गाउँबाट आएँ । आजसम्म काम गर्दा मैले विश्वास आर्जन गरेको रहेछु भन्ने लाग्यो । आज मैले अस्पतालको लिड गरिरहँदा,हिजो जो डाक्टरसँग बोल्न डराउँथे भने आज उहाँहरु मसँग मिलेर काम गर्न आउनुभएको छ । त्यो त मेरो काममा उहाँहरुलाई विश्वास भएरमात्रै हो ।

मेरो २० वर्षको इतिहास हेरेर विश्वास भएरै मिलेर गरौं भन्नुभएको हो । म कर्ममा विश्वास गर्ने मान्छे हुँ । मेहनत गर्दै जाँदा भयो भने ठिकै छ,नभए पनि केही छैन भन्ने खालको मान्छे म हुँ । आज बरिष्ठ र चर्चित डाक्टरहरु जसको नाम लियो भने पनि विरामीहरुले राहत महशुस गर्छन्.,उहाँहरु यहाँ जोडिनुभएको छ । यसले पनि ह्याम्सको स्तर आफैं प्रष्ट पार्छ । उहाँहरु सबैले जनतालाई सेवा पनि दिउँ र एउटा भरोसायोग्य अस्पताल भोलि आफैंलाई पर्दा पनि होस भनेर एक ठाउँमा आउनुभएको छ ।

नेपालमा निजी अस्पताल धेरै भएनन् र ?

नेपालमा भएका प्राइभेट अस्पताल र ती अस्पतालको बेड संख्या हेर्ने हो भने यस्ता अस्पताल अरु दशवटा आउनुपर्छ । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको पनि प्रतिवेदन हेर्नुहोला हाम्रो जनसंख्याको अनुसार अस्पताल पर्याप्त छैनन् । हामीलाई ह्याम्स जस्ता अरु धेरै अस्पताल खाँचो छ । त्यसैले कुनै खतरा हामीले महशुस गरेका छैनौं । बरु सातै प्रदेशमा पनि एक एकवटा अस्पताल खोल्नपुर्छ भन्ने लक्ष्य राखेका छौं ।

प्राइभेट अस्पतालले दिनुपर्ने सेवा र विरामीको संख्यामा हामीलाई शंका छैन । हामीले सरकारलाई सघाउने हो । सरकारी अस्पतालको सेवा सुबिधा विस्तार गर्नुपर्छ भन्ने मेरो पनि भनाइ हो । हामीले सरकारको कानुन नियम पालना गरेरै जनतालाई सेवा दिने हो । हामीले अन्तर्राष्ट्रियस्तरको इमरजेन्सी ब्याक दिने गरि सातै प्रदेशमा त्यस्ता अस्पताल चलाउनुपर्छ ।

सातवटा प्रदेशमा सातवटा अस्प्ताल ह्याम्सकै आउटलेटमा कम्तिमा १५ बडका अस्पताल चलाउनुपर्छ भन्ने सोचेका छौं । आउटलेट भनेर ठूलो अस्पताल हुँदैन तर हाम्रो सेटअपमा हाम्रो अस्पतालमा आइसकेपछि त्यो विरामीलाई ठूलो सेन्टरमा उपचारका लागि पु¥याउने लेबलको इमरजेन्सी सेवा दिनेछौं । हामीसँग हेलिकोप्टर सेवा हुनेछ । किनकी हामीले यो भवन बनाउँदै हेलिप्याड सहितको बनाएका छौं ।

ह्याम्सले नर्सिङ कलेज पनि चलाएको छ होइन ?

हामीले नर्सिङ चलाइरहेका छौं । हाम्रो चाहना अलिकति एकेडेमिक कोर्ष पनि चलाउँ भन्ने हो । हामीसँग भएका फ्याकल्टी डाक्टरहरु प्राज्ञिक हिसाबले एकदमै साउन्ड हुनुहुन्छ । डा अर्जुन कार्की,डा.भगवान कोइराला,डा. भोला रिजालहरु हुनुहुन्छ ।

अहिले जुन चिकित्सिक शिक्षा बिधेयक बनेको छ,त्यसभित्र के छ भन्दा जति पनि अहिले एमबिबिएस डाक्टर देशमा उत्पादन हुन्छन्,तीनले एमडी लेबलको पढाइको सिट संख्या छैन । अहिले चिकित्सा शिक्षा विधेयकले के तोकेको छ भने,एउटा प्राइभेट अस्पताल जहाँ फ्याकल्टी पुग्छ र विशेषज्ञ डाक्टर हुनुहुन्छ तथा विरामीको चापले यदि म्याच गर्छ भने एमडी लेबलको पढाइ गर्न मिल्ने कन्सल्ट्यान्ट कोटा पाउने भनिएको छ ।

त्यो बिधेयकबाट त्यो खालको प्राज्ञिक कार्यक्रम दिन सक्ने प्राबधान खुला छ । यदि देशले त्यो कुरा अघि बढाएको अवस्थामा त्यो एमडी लेबलको पढाइको कार्यक्रम लिन चाहान्छौं ।