रक्तअल्पता नियन्त्रणका उपाय – Dr. Pragya Bhandari Op-Ed in Kantipur

08 January 2020

विश्व स्वास्थ्य सङ्गठनको आंँकडा अनुसार विश्वका करिब एक तिहाइ महिलामा रक्तअल्पता छ । रक्तअल्पताले थकाइ लाग्ने, कमजोरी हुने, सास फुल्ने, चक्कर लाग्ने, मुटु ढुकढुक हुने, टाउको दुख्ने, हातखुट्टा चिसो हुने, मुख वा जिब्रोमा घाउ आउने जस्ता लक्षण देखापर्छ ।

रक्तअल्पता अत्यधिक भएमा बेहोस हुने, मुटुको चाल गडबड हुने, हृदयाघात हुने वा ज्यानै जाने पनि हुनसक्छ । यो बाहेक यसले बच्चाहरूमा खान नरुच्ने, झिन्झिने तथा शारीरिक विकास कम हुन्छ । रगतमा रातो कोषको कमीलाई रक्तअल्पता भनिन्छ । तर सामान्य अर्थमा यसलाई रगतको कमी भनेर बुझ्ने गरिएको छ ।

विकसितभन्दा अति कम विकसित र विकासोन्मुख मुलुकहरूमा रक्तअल्पता हुने महिला तथा बालबालिकाको संख्या अत्यधिक छ । नेपालमा पनि यसको संख्या विकराल रूपमा रहेको अनुमान छ । गर्भवती महिलामा तुलनात्मक रूपमा यसको मात्रा बढी हुन्छ भने बढ्दो उमेरका बालबालिका र करिब ५० प्रतिशत साना बच्चाहरू यसबाट प्रभावित छन् ।

महिला तथा किशोरीमा हरेक महिना रजस्वलाको बेला हुने रक्तस्राव र गर्भवती तथा प्रसवको अवस्थामा अपर्याप्त खानाका कारण रक्तअल्पता अत्यधिक हुने गर्छ । गर्भवती अवस्थामा आमाकै रगत आमा र बच्चामा बाँडिने हुँदा आमामा केही मात्रामा रगत घट्नु स्वाभाविक हो । तर हाम्रा प्रायः महिलामा पहिलेदेखि नै रक्तअल्पता हुने हुँदा गर्भवती अवस्थामा यो अझ विकराल हुन्छ र यही कारणले प्रसवको बेला जटिलताहरू निम्त्याउँछ ।

जस्तो– रगत धेरै कम छ भने प्रसव बेलाको थोरै रक्तस्राव पनि कति महिलालाई श्रापसरह भइदिन्छ, कतिको यसै कारणले मृगौला खराब हुन्छ, कतिको मुटु कमजोर हुन्छ भने कतिले यसले गर्दा अकालमा ज्यान गुमाउँछन् । हाम्रो देशको मातृ मृत्युदर उच्च हुनुको एउटा कारण यो पनि हो । अझ धेरै वा छिटोछिटो बच्चा जन्माउनु आगोमा घिउ थप्नु जस्तै हो । त्यस्तै शिशु तथा बालबालिकाको शरीर वृद्धि हुने बेला चाहिनेजति खानामा तत्त्व नपुग्नु, माटो खानु, जुका पर्नु, झाडापखाला लागिराख्नाले बच्चामा रक्तअल्पता व्यापक रूपमा हुने गर्छ ।

पौष्टिक तत्त्वको कमीका कारण अपर्याप्त खानामात्र नभएर अस्वस्थ खाना पनि हो । बजारमा पाइने आकर्षक आवरणका खानेकुराले बच्चालाई मात्र नभएर ठूला मानिसलाईपनि लोभ्याउँछ । जङ्कको अर्थ डस्टबिनमा फ्याँक्ने कुरा भन्ने बुझिन्छ, तर हामी यस्ता खानेकुरालाई प्राथमिकता दिई–दिई खान्छौं र बच्चालाई पनि खुवाउँछौं, जसले रक्तअल्पताका साथै कुपोषण निम्त्याउँछ ।

माथिका तथ्यहरूले यो प्रस्ट पार्छ कि रक्तअल्पता हामीमाझ रहेको रोगहरू मध्येकै एक व्यापक रोग हो । आखिर यति धेरै दुःख दिने रक्तअल्पता किन यति धेरै ? के यसको उपचार तथा निराकरण कठिन छ ? रक्तअल्पता खासगरी गरिबी, अशिक्षा तथा जनचेतनाको कमीको उपज हो । नेपालमा ३० वर्षअघि करिब दुई तिहाइ महिलामा रहेको रक्तअल्पता अहिले एक तिहाइमा घटेको छ, जसमा शिक्षा, पौष्टिक आहार र सरकारको स्वास्थ्य नीतिको योगदान छ । तर, भविष्यमा यसलाई नगण्य बनाउन यतिमात्र पर्याप्त छैन । रक्तअल्पताको मुख्य कारण आइरन (फलाम) को कमी हो । लौह तत्त्व रगतमा रातो कोष बन्न आवश्यक पर्ने एक महत्त्वपूर्ण तत्त्व हो । यो माछामासुमा धेरै मात्रामा पाइन्छ । साथै माछामासुमा पाइने लौह तत्त्व मानिसको शरीरले सजिलै सोस्न सक्छ भने साकाहारी खानामा फलाम थोरै मात्रामा हुनुका साथै मानिसको शरीरले सजिलै सोस्न नसक्ने खालको हुन्छ । नेपालीको खानामा माछामासु कम हुने हुनाले पनि रक्तअल्पता बढी हुने गर्छ । धार्मिक, सांस्कृतिक कारणले केही नेपाली शुद्ध साकाहारी पनि छन् । जुका पर्नु फलामको कमी हुनुको अर्को महत्त्वपूर्ण कारण हो ।

रक्तअल्पता आइरन चक्कीले सजिलैसँग उपचार गर्न सकिन्छ । आइरन चक्की खाली पेटमा खाँदा शरीरले सजिलोसँग सोस्न सक्छ । तर कतिपयलाई यसले पेट दुख्ने, वाकवाक आउने हुनसक्छ, त्यस्तो अवस्थामा आइरन चक्की खाना खाएपछि खाएमा उक्त समस्या कम हुन्छ । खानामा माछामासुको मात्रा बढाउनाले शरीरमा आइरनको मात्रा बढ्छ । धार्मिक तथा अन्य कारणले माछामासु खान नचाहनेहरूका लागि आइरन चक्कीको माध्यमबाट आइरन पूर्ति गर्न सकिन्छ । कतिपय मानिस (बिरामी) लाई भने अनार वा चुकन्दरले रगत बढाउँछ भन्ने भ्रम छ । अनार, चुकन्दर रातो हुँदैमा यसको सेवनले प्रभावकारी रूपमा रगत बढ्दैन । सरकारको हरेक गर्भवती महिलालाई निःशुल्क आइरन चक्की वितरण गर्ने कार्य एकदमै प्रभावकारी र प्रशंसनीय छ ।

बच्चा तथा बढ्ने उमेरका केटाकेटीहरूमा पौष्टिक खाना, जुकाको औषधि, झाडापखालाको न्यूनीकरणले रक्तअल्पता कम गर्छ । यसको सट्टा भिटामिन बी–१२ पनि रक्तकोष बन्न आवश्यक तत्त्व हो । माछामासुमा मात्र पाइने भिटामिन बी–१२ चक्की सेवनबाट पनि पूर्ति गर्न सकिन्छ । अन्य तत्त्वको कमी वा पेटको अल्सर, पाइल्स, आन्द्राको क्यान्सर, रक्तक्यान्सर जस्ता कारणले पनि रक्तअल्पता हुनसक्छ । यो बाहेक थ्यालेसेमिया, सिकलसेल एनेमिया जस्ता वंशाणुगत खालका रक्तअल्पता पनि हुन्छन्, जुन नेपालका पश्चिम तराईका जिल्लामा खासगरी थारु समुदायमा देखिएको छ । तर अन्य समुदाय पनि यिनीहरूबाट अछुतो भने छैनन् ।

आइरन चक्की, भिटामिन बी–१२ सेवन तथा बालबालिकालाई जुकाको औषधिको प्रयोगबाट पूर्वसावधानी अपनाई रक्तअल्पताको जोखिम न्यूनीकरण गर्न सकिन्छ । एक्कासी तथा धेरै रक्तस्रावले हुने रक्तअल्पताको भने रगत चढाउनु नै मुख्य उपचार हो । पेटको अल्सर, पाइल्स, आन्द्राको क्यान्सर, रक्तक्यान्सर, थ्यालेसेमिया, सिकलसेल एनेमिया जस्ता रोगहरूबाट हुने रक्तअल्पतालाई चिकित्सकीय पद्धतिबाट उपचार गर्न सकिन्छ ।

सामान्य कारणबाट हुने रक्तअल्पतालाई सामान्य तरिकाले उपचार गर्न सकिन्छ भने कहिलेकाहीं यो क्यान्सरको सूचकको रूपमा पनि देखिएको हुनसक्छ । यसका लागि हरेक व्यक्तिको शिक्षा, स्वास्थ्य, पोषण र जनचेतना तथा उपचारको सहज पहुँच सुनिश्चित हुन जरुरी छ ।

भण्डारी फिजिसियन तथा रगत रोग विशेषज्ञ हुन् ।