कोरोना संक्रमणको जोखिमबाट ज्येष्ठ नागरिक कसरी जोगिने ? – Dr. Ramesh Kandel

22 March 2020

कोरोना संक्रमणको जोखिमबाट ज्येष्ठ नागरिक कसरी जोगिने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनको वुहानबाट सुरु भएर तीन महिनामै विश्वका डेढ सयभन्दा बढी मुलुकमा फैलिसकेको कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) संक्रमणको उच्च जोखिममा सबैभन्दा बढी ६० वर्ष उमेर समूह भन्दा माथिका छन् । विशेषज्ञहरूले यो संक्रमणबाट जोगिन सबै उमेर समूहका व्यक्तिलाई विशेष सावधानी अपनाउन आवश्यक हुने बताइरहँदा ६० वर्षभन्दा माथिका र जुनसुकै उमेरका दीर्घरोगी, रोग प्रतिरोधक क्षमता कम भएकालाई थप सावधानी आवश्यक हुने जनाएका छन् ।

यसै सन्दर्भमा इकान्तिपुरकी बुनु थारुले ह्याम्स अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेलसँग गरेको कुराकानीः

कोरोना भाइरसको जोखिममा कुन उमेर समूह छ?

कोरोनमा भाइरसको जोखिम सबै उमेर समूहमाछ। तथ्यांक हेर्दा ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुमा झण्डै १५ प्रतिशत मृत्युदर भेटिएको छ। त्यसैगरी ७० देखि ८० वर्ष उमेर समूहमा ८ प्रतिशतमा मृत्यु देखिएको छ। समग्र जनसंख्यामा भने लगभग ४ प्रतिशत मृत्यु दर छ। तथ्यांक हेर्ने हो भने ज्येष्ठ नागरिक नै बढी प्रभावित भएको देखिन्छन्।

ज्येष्ठ नागरिकहरु नै किन बढी जोखिममा?

सबै ज्येष्ठ नागरिकहरु कमजोर हुन्छन् भन्ने बुझाइ चाहिँ हामीले हटाउनुपर्छ। वाङ्‌मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई हिँडेको र बोलेको देख्दा कसैले पनिउनीसय वर्षका हुन् भनेर पत्याउन सकिँदैन। उमेर ढल्किनु नै रोगलाई निम्त्याउनु हो भन्ने चाहिँ होइन। यो हामी सबैले बुझनुपर्छ।

उमेर ढल्किदै जाँदा शरीरको रोगसँग लड्ने क्षमता विस्तारै कम हुँदै जान्छ। त्यसैले ज्येष्ठ नागरिकहरुमा बढी संक्रमणजन्य रोगहरुको जोखिममा हुन्छन्। ज्येष्ठ नागरिकहरु जो दीर्घरोगी छन् जस्तै मुटुको दीर्घरोग, मिर्गौलाको दीर्घरोग, फोक्सोको दीर्घरोग, कलेजोको दीर्घरोग आदि हुन सक्छन्। जो ज्येष्ठ नागरिकहरु जसले क्यान्सर विरुद्धका औषधिहरु सेवन गरिरहेका छन् उनीहरुलाई पनि जोखिम हुन सक्छ। त्यसैगरी जसले हालै अंग प्रत्यारोपण गरेका छन् र शरीरले प्रत्यारोपित अंगलाई रिजेक्ट नगरोस् भनेर औषधि खाइरहेकालाई पनि उच्च जोखिम हुन सक्छ। र, मृत्यु पनि यस्ता ज्येष्ठ नागरिकहरुलाई बढी देखिएको छ। हामी संक्रमण भएको मान्छेसँग कतिको सम्पर्कमा हुन्छौँ त्यसमा जोखिममा भरपर्छ।

नेपालमा ज्येष्ठ नागरिकहरुको जनसंख्या कति छ?

नेपालमा लगभग ९ प्रतिशत जति ६० वर्षमाथिका छन् जसलाई हामी ज्येष्ठ नागरिक भन्ने गरेका छौँ। नेपालको लगभग पौने ३ करोडको जनसंख्यामा २७ देखि ३० लाख नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरु हुनुहुन्छ।

कोरोना भाइरस नेपालमा फैलियो भने अरु देशभन्दा ज्येष्ठ नागरिकहरु कत्तिको जोखिममा पर्न सक्छन्?

नेपालमा फैलियो भने त आम जनसंख्या नै प्रभावित बन्‍न पुग्छन्। तर अरु उमेर समूहका लागि रोगसँग लड्न सक्ने क्षमता बलियो हुँदा खासै त्यस्तो ठूलो प्रभाव पार्दैन। कडा खालको लक्षण जस्तै ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, श्वासप्रश्वासमा समस्या आउनु हुन् भनेर बुझ्नु पर्ने हुन्छ।

क्यान्सरको उपचार गराइरहेका युवाहरु पनि हुन सक्छन्। उनीहरु पनि बढी जोखिममा हुन्छन्। तर स्वस्थ्य मान्छेमा भने त्यो लक्षणहरुलाई शरीरले ओभरकम गर्दिन्छ। तर ज्येष्ठ नागरिक तथा उपचार गराइरहेकाहरुमा यी लक्षणहरु अलि कडा रुपमै देखिन्छन्। एकदम जोखिमपूर्ण अवस्था भनेको कोभिडले निमोनिया गराइदिन्छ र त्यसको कारणले मानिसको मृत्यु हुन्छ। तर जोखिममा रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुको सबैको मृत्यु नहुन सक्छ। धैरै जना उपचार पाएर घर फर्किएका उदाहरण पनि छन्। जोखिमपूर्ण अवस्था छन् कि छैनन् त्यसले निर्धारण गर्छ।

अरु देशभन्दा नेपालका ज्येष्ठ नागरिकहरु बढी कि कम जोखिममा हुन सक्छन्?

जोखिम बढी नै हुन्छ ज्येष्ठ नागरिकमा। पश्चिमा देशहरुमा ज्येष्ठ नागरिकहरु आफ्ना दैनिक आवश्यकता परिपूर्ति गर्न आफैं लाग्नुपर्ने हुन्छ। सामान किन्नु पर्ने, सार्वजनिक यातायात चढ्नुपर्ने हुन्छ। उनीहरुलाई एक प्रकारको बाध्यतात्मक अवस्था हुन्छ। नेपालमा भने अलि फरक अवस्था छ। हामी कहाँ त्यस्तो नभएपनि अन्य कुनै कारणले ज्येष्ठ नागरिकहरु भिडभाडमा जानुपर्ने गर्छन्। जस्तै पुजा, भजनकिर्तन, जात्रा, पर्व, विवाह समारोह जहाँ ज्येष्ठ नागरिकहरु जानुपर्ने अवस्था रहन्छ। यदि त्यो भिडभाडमा कोही कोरोना संक्रमित छ भने ज्येष्ठ नागरिकहरुलाई पनि फैलिन सक्ने एकदम बढी हुन्छ।

घरमा रहेका ज्येष्ठ नागरिकहरुलाई कोरोना भाइरसबाट बचाउन के गर्नुपर्छ?

कोरोनाको केश होस् वा अरु सांक्रामक रोग जस्तै इन्फ्लुएन्जा। इन्फ्लुएन्जा पनि संसारभरी ज्येष्ठ नागरिकहरुमा एकदम महामारीको रुपमा नै देखिएको छ। बच्‍ने तथा बचाउने तरिका भनेको सावधानी अपनाउनु नै हो। अलि भिडभाड युक्त ठाउँमा ज्येष्ठ नागरिकहरुलाई जान निरुत्साहित गर्ने, सकेसम्म यो एक दुई महिना भिडभाडमा नजाने, विभिन्‍न खालको चाडपर्व केही समयसम्म सार्ने।

घरमै पनि कोही मानिसलाई पनि ज्वरो तथा रुघाखोकी लाएको छ भने सकेसम्म ज्येष्ठ नागरिकहरुको नजिक नजाने। स्वस्थ्य मान्छेले पनि ज्येष्ठ नागरिकहरुलाई भेट्नु भन्दा पहिले मज्जाले साबुन पानीले हात धोएर जाने गरियो भने पनि कोभिडको संक्रमणबाट बचाउन सकिन्छ।विभिन्‍न देशबाट आएका व्यक्तिले कम्तीमा २ देखि ३ हप्तामा बुढापाकालाई नभेट्ने। उनीहरु स्वस्थ्य नै छन् भने पनि मास्क लगाएर अनि राम्रोसँग साबुन पानीले हात धोएर भेट्न जाने।

ज्येष्ठ नागरिकहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनलाई के गर्ने?

रोगसँग लड्न सक्ने क्षमता कम छ भने उनीहरुलाई नै कोभिडको उच्च जोखिम हुने हो। उमेरलाई त चाहेर पनि घटाउन सक्दैनौं। उचित खानपान जस्तै पौष्टिक आहारविहार जस्तै ताजा सागसब्जी तथा फलफूलमा ध्यान पुर्‍याउन सक्यौँ र उनीहरुले कमसेकम आफ्नो शारीरिक अवस्थाले भ्याउन सक्ने गरी शारीरिक अभ्यासमा संलग्‍न गराउन सक्यौँ भने एक हिसाबाले रोगसँग लड्न सक्ने क्षमता बढ्छ।

जो विभिन्‍न रोग भएका हुन्छन् सुगर, प्रेसर, दम पनि नियन्त्रणमा छन् किन छैनन् भनेर परिवारका सदस्यले एकदम ध्यान पुर्‍याउनुपर्ने हुन्छ। कोभिडबाट उनीहरु उच्च जोखिममा रहेका छ हुन्छन् नै रोगहरु नियन्त्रणमा भएनन् भने संक्रमण हुने अवस्थामा एकदम बढाइदिन्छन्। शारीरिक अभ्यास घरभित्रै बसेर गर्न सकिन्छ। आफ्नै घरवरिपरि टहलिने, हिँड्ने आधा तथा १ घण्टा हिँड्डुल गर्ने, घरायसी काममा सघाउने, सकिन्छ भने करेसाबारीमा सकृय हुने भयो भने एक प्रकारको शारीरिक अभ्यास हुन्छ।

सरकारले ज्येष्ठ नागरिकहरुलाई सुरक्षित राख्न के कदम चाल्नुपर्छ?

अहिले जति पनि सरकारले काम गरिरहेको छ त्यो सराहनीय छ। सीमित जनशक्ति तथा पूर्वाधार भएको देशले यति गर्न सक्नु पनि सकरात्मक अभ्यासको कुरा हो। प्रयोगशालाको कोभिडको परीक्षण प्रदेशहरुमा पनि जिम्मेवारी बाँडफाँड गर्न सकियो भने रिपोर्टहरु पनि छिटो आउँथ्यो। जनचेतना एकदम आवश्यक छ। किनकी औषधि तथा खोप बनिसकेको छैन यो भाइरसको। सरकारका संयन्त्रहरुलाई पनि परिचालन गर्ने। यसबाट आत्तिनु हुन्न, सतर्क रहनुपर्छ। अनावश्य रुपमा आँखा, नाक तथा मुख छुनुभएन। सरुवा रोग सर्नुको मुख्य कारण नै सरसफाइमा ध्यान दिएन भने फैलिने हो त्यसैले सफा बस्‍नुपर्छ।